५औं नेपालगन्ज कोराको उल्लास (फोटो फिचर)

नेपालगन्ज : कोरा साइक्लिङ च्यालेन्ज शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपालगन्ज साइक्लिङ क्लबले हरेक वर्ष साइकल प्रेमीहरुको महाउत्सवको रुपमा आयोजना गर्दै आएको कोरा साइक्लिङ च्यालेन्जको पाँचौं संस्करण शनिबार नेपालगन्जबाट सुरु भएर बाँके र बर्दियाका विभिन्न स्थानसम्म साइकल यात्रा गर्दै उल्लासपूर्ण रुपमा सम्पन्न भएको हो ।

बिहान् ६ः३० बजे नेपालगन्जको न्युरोडस्थित बौद्ध गुम्बाबाट कोराको शुभारम्भ भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले गरेका थिए ।

साइकल यात्रीहरुले नेपालगन्जको बौद्ध गुम्बा, जामे मस्जिद, बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्वारा, ज्योतिचर्च, त्रिशक्ती मन्दिरहुँदै चौलिक्का, ढोडे गाउँ, शिवपुरा इन्डो( नेपाल बोर्डर हुँदै जोगागाउँ मन्दिर भएर ३० किलोमिटरका यात्रीहरु नेपालगन्ज फर्किए भने ५०, ७५ र १०० किलोमिटरका यात्रीहरु बर्दियाका केही स्थल परिक्रमा गरि नेपालगन्ज फर्किए भने एउटा समूह अगैयाहुँदै नेपालगन्ज फर्किएको क्लबका सचिव प्रदीप सापकोटाले बताए ।

यस वर्षकोे कोरामा ७ वर्षीय अभिनव चौधरीसहित ६५ जनाले सहभागिता जनाएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए । कार्यक्रममा नेपालगन्ज एसओएस युवालयको समेत सहभागिता थियो ।