राजापुरका थारु बस्तीमा हरेरीको रौनक

सुदीप दहित । राजापुर
बर्दियाको राजापुर लगायत थारु बस्तीमा हरेरी पूजा भइरहेको छ ।
धान रोपाइँ सकेपछि चाँडै हरियो होस र धानमा कुनै किसिमको रोग नलागोस् । कुनै हानी नोक्सानी नहोस् भनेर थारुहरुले वर्षौदेखि हरेरी पूजा गर्ने चलन छ । थारु समुदायमा प्रत्येक गाउँमा हरेरी पूजा गरिन्छ ।

हरेरीमा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन् । हरेरी पूजा २ दिनसम्म गरिन्छ । पहिलो दिन गाउँमा केसौकी गर्ने, मरुवा वा देउथानमा पूजा गर्ने र साँझ पूजाको लागि गुइँठाको आगोमा गुरुवाले हाम्फाल्ने, मन्त्रोचारण गर्ने गरिन्छ । पूजाको भोलिपल्ट पूजारीले दिएको खरिभन अर्थात दूध र आगो लिएर खेतबारीको गराको पानीमा उक्त खरिभन मिसाउदा खेती सप्रने र यसले बाली जोगाउँछ भन्ने जनविश्वास छ । कतै कतै त किसान रातभरी जाग्राम बसेर नाँचगान गर्छन् । हरेरी पूजापछि मात्र थारु गाउँमा नाचगान र मादल बजाउने प्रचलन छ । हरेरी अघि मादल बजाउन पाइँदैन ।