नगरवासीका लागि नेपालगन्जमा एम्बुलेन्स निःशुल्क

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सोमबार बिहान वीपी चोकस्थित उपमहानगरपालिका परिसरबाट निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ गरेका हुन् । प्रमुख विष्टले संविधानले नै प्रत्येक नागरिकलाई आधारभूत तहको स्वास्थ्य सेवा प्रत्याभूति गरेकाले त्यही व्यवस्था अनुरुप एम्बुलेन्स सेवा निःशुल्क गरिएको बताए । कार्यक्रममा उप प्रमुख कमरुद्दिन राई र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवा सुरु भएपछि कसैले पनि समयमै अस्पताल जान नपाएर अकालमा ज्यान गुमाउन नपर्ने बताए ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार गर्भवती, अपाङ्ग, अशक्त, जेष्ठ नागरिक लगायत अत्यावश्वकीय सेवा आवश्यक पर्ने जो कोही नेपालगन्जवासीले एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन उपमहानगरपालिकाले तीन वटादेखि पाँच वटा एम्बुलेन्स २४ घण्टा उपलब्ध गराउन एम्बुलेन्स सेवा प्रदायकलाई मासिक एक लाख रुपैयाँ उपलब्ध गराउने चन्दले बताए ।
एम्बुलेन्स सेवा निःशुल्क गर्ने नेपालगन्ज एक्लो स्थानीय तह होइन । देशका विभिन्न स्थानीय तहले गर्भवती, सुत्केरी, दलित, गरिब, विपन्न, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई एम्बुलेन्स सेवा निःशुल्क गरेका छन् ।