सवा १२ लाखको चेक बाउन्स भएपछि पूर्वमन्त्री विजय यादव बैंकिङ कसुरमा पक्राउ
नेपालगन्ज : लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । आइतबार साँझ बाँके प्रहरीले पूर्वमन्त्री यादवलाई पक्राउ गरेको हो ।
रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई दिएको १२ लाख २८ हजार रुपियाँको चेक बैंक अफ काठमाडौंको उक्त चेक साँट्न जाँदा खातामा रकम नभएको पाएपछि यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार पूर्वमन्त्री यादवलाई आइतबार साँझ ५ बजेतिर नेपालगन्जमा पक्राउ गरेर रुपन्देही जिल्ला प्रहरी कार्यालय पठाइएकोे हो । ‘लेनदेनको हिसाब नमिलेकको मुद्दामा उहाँलाई पक्राउ पूूर्जी थियो । हामीले पक्राउ गरेर आइतबार नै रुपन्देही जिप्रका पठाएका हौं’,प्रवक्ता डाँगीले भने ।