१२ लाख २८ हजार फिर्ता दिएर रिहा भए पूर्वमन्त्री विजय यादव
नेपालगन्ज : रूपन्देहीका उमाशंकर यादवलाई दिनुपर्ने १२ लाख २८ हजार रुपैयाँ फिर्ता दिएपछि लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव रिहा भएका छन् ।
बैंकिङ कसुर मुद्दामा बाँकेमा पक्राउ परेर रुपन्देही पठाइएका यादवले सोमबार नै उमाशंकरको बैंक खातामा पैंसा जम्मा गरे पनि आवश्यक प्रक्रिया पूरा नहुँदा मंगलबार मात्रै रिहाइ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएको समाचार सेतोपाटी डटकमले लेखेको छ ।
तीन वर्ष पहिले सापटी लगेको १२ लाख २८ हजार रुपैयाँ फिर्ता नदिएको भन्दै रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए। मुद्दा दायरपछि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा यादवलाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको थियो । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका यादवले सत्ता र शक्तिका लागि ६ वर्षमा तीन वटा पार्टी परिवर्तन गरेका कारण जिल्लामा दलबदलु नेताको पहिचान बनाएका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । २०७९ सालको प्रदेशसभा निर्वाचन यता उनी अहिले नेकपा (एमाले)मा छन् ।