व्यवसायिक बाख्रापालनमा कल्पना
भारती चौधरी । राजापुर
कृषि क्षेत्रको परम्परागत ज्ञानलाई नै व्यवसायिक बनाउन सके राम्रो आम्दानी गर्न सकिन्छ, आत्मनिर्भर बनिन्छ भन्ने उदाहरण हुन्, कल्पना थारू ।
बर्दियाको राजापुर नगरपालिका–५ की थारूले व्यवसायिक बाख्रापालन गरेकी छन् । एक वर्ष अघि एक लाख ५० हजार रुपैयाँ लगानी गरेर पाँच वटा बाख्रा पाल्न सुरु गरिन् । २० हजार खर्चेर बाख्राको खोर बनाइन् । छोटो समयमै बाख्राले खोर भरिएको छ । उनको खोरमा अहिले ३७ वटा छन् । पाठापाठी त २० वटा भन्दा बढी पुगेका छन् । तीन कठ्ठा क्षेत्रफलमा उनको बाख्रा फर्म छ । आफ्नै जग्गामा घाँस लगाएकी छन् । ‘एक वर्षमै आम्दानी लिने बेला भइसकेको छैन’, उनी भन्छिन्, ‘थोरै लगानीबाट सुरु गरेकी हुँ । जीवनस्तरमा सुधार भइरहेको छ ।’ कल्पनाको सिको गरेर छिमेकी पनि बाख्रा पालिरहेका छन् ।