बर्दियाका ४ स्थानीय तहमा सकारात्मक अभिभावक शिक्षा कार्यक्रम सञ्चालन

गृुलरिया : बालविवाह न्यूनिकरण परियोजनाले बर्दियाका चार वटा स्थानीय तहमा बालबालिकाहरुको शैक्षिक स्तर बृद्धि गर्न गाउँगाउँमा सकारात्मक अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप)को आर्थिक तथा प्राविधिक साझेदारीमा सञ्चालन गरिएको बालविवाह न्यूनिकरण परियोजनाले जिल्लाका ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालीका, र गेरुवा गाउँपालिकामा सकारात्मक अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो। परियोजना सञ्चालन गरिएका चार स्थानीय तहका ४३ वटा विद्यालय सेवा क्षेत्रभित्र रहेका अभिभावकलाई शिक्षा सत्र सञ्चालन गरेको परियोजना प्रविधिक संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

विद्यार्थी विद्यालय नियमित नहुने, विद्यालय छोड्न सक्ने सम्भावित, र सिकाइ उपलब्धीको स्तर कम भएका सम्भावित बालबालिकाहरुको अभिभावकलार्इ लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको शर्माले बताए । आफ्ना छोरा छोरीको सिकाइ उपलब्धी कसरी बढाउने र उनीहरुको घरमा अध्ययनको वातावरण निर्माण गर्न सिकाइ कुना बनाउनका लागि अभिभावक भेला गरी ७ सन्देशका बारेमा छलफल र अन्तरक्रिया गरिन्छ ।
बालबालिकाहरुको पढाइ स्तर कस्तो छ ? आगामी दिनहरुमा घरमा सिकाइ वातावरण निर्माण गर्नका लागि अभिभावकको भूमिका महत्वपूर्ण रहने भएकाले यस्ता कार्यक्रम विद्यालयको सेवा क्षेत्रभित्र सञ्चालन गर्न उपयुक्त रहेको सहभागीहरुले बताएका छन् । सकारात्मक अभिभावक शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा बालबालिकाहरु विद्यालयमा नियमित हुने, विद्यालय छोड्न सक्ने सम्भावित बालबालिकाहरु संख्यामा कमी आउने र सिकाइ उपलब्धीको स्तर बृद्धि हुने र कुलत तथा दुव्र्यसनीबाट पनि बच्न सकिने भएकोले अभिभावक शिक्षा सत्र सञ्चालन भएको मधुवन नगरपालिका वडा नं ५ वडगाउँकी पूर्ववडघर मनप्यारी चौधरी बताउँछिन् ।

एक घर एक पढाइ कुना भन्ने नाराका साथ घरमा पढाइ कुना हुनुपर्ने, त्यसका लागि घरमा पढ्नलाई शान्त स्थान र समय अभिभावले छुट्याएको हुनुपर्ने, बिहान वा साँझको समयमा बालबालिकाहरु घरको पढाइ कुना वा कोठामा बसेर पढ्ने व्यवस्था गर्ने बानी बसाल्नका लागि ध्यान दिने, अभिभावकले आफ्ना बालबालिकाहरुलाई समय दिने बालिबालिकाहरुलाई कथा, दन्त्य कथा सुनाउने, बालबालिकाहरुले पढेका कुरा ध्यान दिएर सुन्ने, उनीहरुसँग कुराकानी गर्ने, आफ्ना बालबालिकाको सिकाइ उपलब्धी थाहा पाउन विद्यालयमा गएर शिक्षकहरुसँग छलफल गर्नुपर्ने, विद्यालयको गुणस्तर सुधारमा अभिभावकहरुको भूमिका विषयमा छलफल गरी घरमा सिकाइ कुना निर्माणका लागि कार्ययोजना बनाउने गरिन्छ ।