पाटेबाघ बढ्दा व्यवस्थापनमा चुनौती

केशव कोइराला । ठाकुरद्वारा (बर्दिया)
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बृद्धि भएसँगै व्यवस्थापनमा चुनौती थपिएको भन्दै संरक्षणकर्मीले चिन्ता ब्यक्त गरेका छन् । बर्दिया निकुञ्जमा सन् २०२२ को गणनामा अनुसार पाटे बाघको संख्या १२५ रहेको छ ।
विश्व बाघ दिवसको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जले शनिबार पर्यटकीय नगरी ठाकुरद्वारामा आयोजित कार्यक्रममा संरक्षणकर्मीले बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्न, बाघको सुरक्षित बासस्थान र आहारा प्रजातिको बृद्धि लगायतका समस्या समाधान गर्न चुनौती थपिएको बताए ।
कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको संरक्षण नै मुख्य चुनौती भएको बताए । उनले बाघको सङ्ख्या बृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्न सुरक्षित बासस्थान, आहारा प्रजातिको बृद्धि, बाघको आनीबानीबारे सचेतना फैलाउन आवश्यक रहेको बताए ।
बाघको संरक्षणसँगै आयआर्जन गर्न सकिने भन्दै अधिकृत भण्डारीले बाघको आहाराजन्य प्रजातिको चरिचरन, पानीपोखरी निमार्णका कार्यलाई निकुञ्जले विशेष महत्व दिएको बताउँदै हातेमालो गर्न सबैैसँग अपिल गरे ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाङ्फेले आफ्नो कार्यालयले मानव र वन्यजन्तु सह अस्तित्व कायम गर्न समुदाय स्तरमा पुगेर सचेतनाका कार्यक्रम गर्नुका साथै पाटे बाघको उद्दार गरेर विभिन्न चिडियाखानामा पु¥याउने कार्य गरिरहेको बताउँदै यस्ता कार्यलाई व्यापक गरेर लैजाने प्रतिबद्धता जनाए ।
पर्यटन व्यवसायी मोनलाल चौधरीले बाघ बढेको उपलब्धीलाई पर्यापर्यटनसँग जोडेर समुदायको आर्थिक पाटो बलियो बनाउनु पर्ने बताए । उनले सरकारी नियमका कारण पर्यटक र पर्यटन व्यवसायी अप्ठारोमा परेको भन्दै चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष हेमन्त आचार्य, नेपाली सेना निकुञ्ज सुरक्षा दल, चोरी सिकार नियन्त्रण युवा परिचालन समिति पदाधिकारी सरोकारवाला सहभागी थिए । विश्व बाघ दिवसका अवसरमा ठाकुरद्वारामा बाघ जोगाऔं मानव वन्यजन्तु सहअस्तित्व कायम गरौं भन्ने नारासहित ¥याली निकालिएको थियो ।