‘सिनेरोयल नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क हो’

सिनेरोयलले देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ, जसले चलचित्र दर्शकहरूलाई कहिल्यै नबिर्सने अनुभवको आभाष छोडेको छ

नेपालगन्जमा अन्तर्राष्ट्रिय मापदण्डको सिनेरोयल सिनेमा घर बनाएर डा.राहुल थापा चर्चामा छन् । सिनेरोयलको प्रारम्भिक योजना, यसको भौतिक पूर्वाधारकोे अवस्था र थियटरले प्रयोग गरेको अन्तर्राष्ट्रिय मापदण्डका विषयमा सिनेरोयलका प्रबन्ध निर्देशक डा.राहुल थापासँग शंकरप्रसाद खनालले गरेको कुराकानी :

डाक्टरी पेशा गरिरहेको ब्यक्तिलाई लग्जरी सिनेमा हल बनाउने सोच कहाँबाट आयो ?
– हुन त म धेरै मुभी हेर्दैन । बुबा (बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.विनोद थापा) भने कलेज पढ्दा धेरै सिनेमा हेर्न जानुहुन्थ्यो । मैले थियटर बनाउन थालेपछि यही प्रश्न धेरैले गरेका छन्, ‘डाक्टर मान्छे किन थियटरमा लाग्नुभयो ?’ मेरो एक मात्र उद्देश्य नेपालगन्जमा केही चेञ्ज गरेर एउटा बेञ्चमार्क क्रियट गर्ने हो ।
थियटर बनाउने कुरासँग भारत भ्रमणको एउटा प्रसंग पनि जोडिएको छ । १५ वर्ष अघि म भारतको जयपुर घुम्न गएको थिए । यहाँ घुम्ने ठाउँ के के छन् भनेर सोध्दा अरु ठाउँ त जानुहोला । राजमन्दिर हलमा सिनेमा हेर्न नभुल्नुहोला भनेर भनियो । मलाई अचम्म लाग्यो । पर्यटकीय क्षेत्रको रुपमा सिने थियटर १ म त्यहाँ गए । त्यो बेला वान पीस स्टक्टचर नै रहेछ । पर्यटकका लागि ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र अरु थुप्रै कुरा जस्तै सिनेमा हल पनि हुने रहेछ । यहाँ त झन क्रस बौर्डर टुरिजम हब बनाउन सकिन्छ भन्ने लाग्यो । मलाई पनि त्यस्तै केही नयाँ गरौं लाग्योे । देशकैै राम्र्रो हल बनाऔं भनियो र लग्जरी सिनेमा थियटर बनाइयो ।
जयपुरमा जस्तै, नेपालगन्ज आउने हरेक सिनेप्रेमीलाई पक्कै एक पटक सिनेरोयल थियटरमा पुग्ने रहर हुनेछ । सञ्चालनको दुई दिनभित्रै एक हजार बढीले ६ वटा सिनेमा हेरेका छन् । जसमा ३० प्रतिशत त भारतीय नै छन् । यसबाट नेपालगन्जमा केही नयाँ आयो भन्ने दर्शकलाई लागिसकेको छ ।

तपाईहरुको वेष्टर्न हस्पिटल त छँदै थियो । नेपालगन्जमै किन सिनेमा हल बनाउनु भयो ?
– सिने थियटर भनेको छुट्टै इमोेसन आउने ठाउँ हो । जहाँ हरेक पटक जाँदा फरक फरक फिल हुन्छ । चाहे त्यो हरर मुभी होस् वा कमेडी मुभी दर्शकले फरक फरक आनन्द पाउँछ । नेपालगन्जमा पनि त्यस्तै रिफ्रेस सेन्टरकोे खाँचो थियो । दिनभरीकोे काम सकेर कहाँ जाने त ? रेष्टुरेन्ट मात्र कति जाने ? नेपालगन्जका लागि केही नयाँ गरौं न भनेर मलाई पाँच वर्ष अघि सोच आयो । चार वर्ष लगाएर एउटा इन्टरनेशनल स्ट्याण्डरको सिने थियटर बनाउन सफल भएको छु ।

सुरुमै अहिले बने जस्तै सिने थियटर बनाउने योजना थियो ?
– थिएन । हामीले अरु सिने थियटरको लागत हेर्दा त्यस्तै सातदेखि नौ करोडमा बनाउने लक्ष्य राखेका थियौं । कस्तो थियटर बनाउने भनेर भारतको मुुम्बईमा रिसर्च गर्न गयौं । त्यहाँ हामीले इन्टरनेशनल स्ट्याण्डरको लग्जरी सिने थियटर बनाउने एरा आर्टेटेक्टका इराना एग बोटेलाई भेट्यौं । उहाँको पहिलो सर्त नै इन्टरनेशनल स्ट्याण्डरको बनाउने भए काम गर्छु भन्ने थियो । उहाँको मुम्बई र दुबईमा कार्यालय रहेछ । विश्वभर १४०० भन्दा बढी सिने थियटर डिजाइन गरिसक्नु भएको रहेछ । एरा आर्टेटेक्टले नेपालकोे डेकोरेन डिजाइनसँग मिलेर हाम्रो प्रोजेक्टमा काम गरे । विश्वमा भएका सबै लिडिङ टेक्नोेलोजी सबैै खोज्दैै गयौं । जे जे नयाँ र राम्रो थियो । ल्याउँदै गयौं । काम गर्दै जाँदा हरेक कुरा अरु सिने थियटर भन्दा नयाँ गर्दै जाँदा लागत बढेर २५ करोड पुगेको छ ।

इन्टरनेशनल स्ट्याण्डरको थियटर बनेको छ भन्नु भयो । तपाईको थियटरमा के–के कुरामा इन्टरनेशनल स्ट्याण्डरमा प्रयोग भएको छ ?
– एउटा सिने थियटरमा सिट, स्क्रिन, प्रोजेक्टर र साउण्ड सिस्टम चार वटा कुरा हुन्छन् । हाम्रोमा संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ । सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ । यो पनि नेपालकै पहिलो प्रयोग हो । नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ । थियटरमा प्रयोग भएका अधिकांश प्रविधि विश्वस्तरका र विदेशबाटै मगाइएका छन् । सिनेरोयलले अत्याधुनिक अग्नी सुरक्षा प्रणाली र पूर्ण रूपमा अग्नी–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गर्दछ । थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्दछ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गर्दछ ।

सिनेरोयलमा कस्तो फायर सिस्टम छ र ?
– अटिटोरियम भनेको मार्चिस (सलाइ)को डब्बा जस्तै हुन्छ । आगो लाग्यो कि एकै पटकमा सबै स्वाहा हुन्छ । सिने थियटरमा सबैभन्दा बढी क्षति पनि आगलागीबाट भएका छन् । हामीले हाम्रा दर्शकलाई सुरक्षित बनाउन झन्डै अढाइ करोड रुपैयाँ त फायर सिस्टमका लागि मात्र खर्च गरेका छौं । हाम्रो एक लाख २५ लिटर क्षमताको अण्डरग्राउण्ड पानी संकलन गर्ने प्रणाली जडान जडित । आगो लाग्यो भने दमकल आउनु अघि नै हाम्र्रो फायर सिस्टमले नै आगो निभाउन सक्छ । अर्को कुरा हामीले प्रयोग गरेका प्लाइ, कार्पेट, सिटको कपडा, तारहरु सबैमा आगो लागिहाले पनि नफैलिने खालका छन् । जहाँ आगो लाग्छ, त्यही निम्छ । हाम्र्रो थियटर बन्दैै गर्दा एकपटक कार्पेटमा विद्युतबाट राति आगलागी भयो तर बिहान हेर्दा त्यहाँ सानो क्षेत्र मात्र जलेको थियो, फैलिएन । अरु सिस्टममा भएको भए नबन्दै थियटर जलेर नष्ट हुन्थ्यो । हाम्रो थियटर बन्दै गर्दा मैले काठमाडौैंका सबै थियटरमा गएर मुभी हेरेको छु । हाम्रो जस्तो प्रविधि नेपालमा अरु कतै प्रयोग भएको मैले पाएन । भारतको मुम्बइ, नयाँ दिल्ली र साउथ इन्डियामा भने प्रयोग भएको छ ।

सिनेरोयलमा खास विशेषता के छ ?
– नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ । सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो । अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी अनुभव प्रदान गर्दै राष्ट्रिय गौरवको परियोजना निर्माण गर्दै नेपाललाई आधुनिक सिनेमा थिएटरको लक्जरीपूर्ण अनुभव अन्तर्राष्ट्रिय मानचित्रमा ल्याएको छ ।
फराकिलो एक बिघा क्षेत्रफलमा आकर्षक मोडलको भवनमा सिनेरोयल बनेको छ । सुरुमा दुई वटा मात्र अडिटोरियम बनाउने योजना थियो । प्रति अडिटोरियममा २१७ सिट क्षमतका दुई वटा नै बनायौं । लवी अलि ठूलो बन्यो । लवीमा गर्ने खर्चले त अर्कोे अडिटोरियम नै बन्छ भन्ने लाग्यो । १२६ सिटको तेस्रो अडिटोरियम पनि बनायौं । अहिले हाम्रो कूल सिट क्षमता ५६० हो । तीन वटै थियटरको एकैैपटक इन्ट्री र आउट हुँदैन । इन्टरभल समय पनि फरक फरक हुन्छ । अहिलेको लवी ठीक्क भएको छ । हामीले तीन वटै थियटरलाई अपाङ्गमैत्री बनाएका छौं । अपाङ्गमैत्री शौचालय पनि बनाएका छौं । हामीसँग कम्तीमा पनि १०० गाडी र ३०० मोटरसाइकल अटाउने पार्किङ छ ।
अझै केही कामहरु गर्न बाँकी नै छन् । सिनेरोयल परिसरमा एउटा रेष्टुरेन्ट पनि बन्दैछ । अबको एक महिनाभित्र बनिसक्छ । यहीँ डिपार्टमेन्ट स्टोर बनाउने योजना छ । त्यो एक वर्षभित्र बन्छ । सिनेमा हेर्न मात्र होेइन, सिनेरोयल क्षेत्रमा कफि खाँदै सपिङ गर्ने एकीकृत थलोको रुपमा विकास गर्दैछौं ।

अरु नयाँ अभ्यास के के छन् ?
– इन्टरनेशनल स्ट्याण्डरको थियटरमा ग्यासको प्रयोग गर्न दिइँदैन । हाम्रो किचन पनि पूरै इलेक्ट्रिक किचन हो । हामीले उपभोक्तालाई फ्रेस बर्गर खुवाउँछौं । हाम्रो पप कर्न बनाउने मेसिन अमेरिकाको गोल्ड मेडल कम्पनीको हो । लबीमा राखिएको झुमर नेपाल, भारत, चीन कतै पाएनौ । इटलीबाट ल्याएको हो ।

आर्थिक संकटका बेला यति ठूलो लगानीमा सिनेमा घर बनाउनु भयो । आर्थिक मन्दीको असर पर्दैैन ?
– आर्थिक मन्दीले सबैतिर तनाव नै तनाव छ । हामीले कोभिड अघि नै थियटरको निर्माण सुरु गरेका हौं । पहिलो लकडाउनमा त सबैैभन्दा पहिलो बन्द गर्ने भनेकै सिनेमा घर थियो । कोभिडको प्रभाव कहिलेसम्म रहन्छ भन्ने पनि थाहा थिएन । हामीले डेढ वर्ष काम रोक्यांै । कतिले क्यासिनो बनाउन सुझाव दिए । समाजलाई प्रत्यक्ष फाइदा नहुने बिजनेशमा हाम्रो रुची गएन । दोस्रो लकडाउनपछि काम नरोकौं, टुग्याऔं भनेर लाग्यौं । दर्शकलाई भार नपरोस् भनेर लाग्यौं र बनायौं ।

दर्शकलाई कसरी राहात हुन्छ त ?
व्यस्त जीवनशैलीले धेरै जना तनावमा छौं । जति तनाव भए पनि थियटर भनेको स्टे«स फ्रि हुने ठाउँ हो । पहिले पहिले म पनि धेरै सिनेमा हेर्दैनथे । नेपाली मुभी त निकै कम हेरेको छु । हल खुले यता ६ वटा मुभी हेरिसके । बुबा पनि हरेक राति सिनेमा हेरेर जानुहुन्छ । दर्शकलाई पनि हामीले लागतभन्दा निकै सस्तोे सेवा दिएका छौं ।
हप्तामा दुई दिन र हरेक दिनको बिहानी शो आधा शूल्क अर्थात दुई सय रुपैयाँमा हेर्ने व्यवस्था गरेका छौं । नियमित रुपमा सिने थियटर आउने दर्शकको लाइफ स्टाइलमै फरक पार्छ जस्तोे मलाई लाग्छ ।

लगानीको प्रतिफल कहिलेसम्म आउला ?
– सिनेमा थियटरको लगानी परम्परागत बिजनेश जस्तो तत्कालै प्रतिफल फिर्ता आउँदैन । यति वर्षमा आउला भनेर हामीले सोचेका पनि छैनौं । पैसा कमाउने भन्दा पनि रहरले बनाएको थियटर हो । नेपालगन्जका लागि एउटा टे«डमार्ग बन्नेछ भन्ने हामीलाई विश्वास छ ।

अन्त्यमा, दर्शकलाई के भन्न चाहनुहुन्छ ?
– सिनेरोयलले देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ । जसले चलचित्र दर्शकहरूलाई कहिल्यै नबिर्सने अनुभवको आभाष छोडेको छ । हल खुल्नु अघि हाम्रो सम्पत्ति थियो । अब दर्शकको सम्पत्ति भएको छ । आउनुस् सिनेमा हेर्नुस् । तनाव मुक्त भएर जानुस् । तपाईहरुले दिएको सुझावका आधारमा हाम्रा कमी कमजोरी सच्चाएर जानेछौं ।