१० बजे सीमा बन्द हुँदा हाइस्पिडका गाडी दुर्घटनामा नेपालीले गुमाउँछन् ज्यान, नेपालगन्जका ६ को मृत्यु

नेपालगन्ज : सीमा नाका बन्द हुनु अघि पुग्ने लक्ष्यका साथ हाइस्पिडमा गाडी चलाउँदा सीमावर्ती भारतीय क्षेत्रमा हुने दुर्घटनामा नेपालीले ज्यान गुमाउने गरेका छन् ।
भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए शनिबार राति गाईसँग ठोक्किँएर भएको दुर्घटनामा परी नेपालगन्जको सदरलाइन निवासी ३५ वर्षीय वैभव गुप्ता, उनकी पत्नी ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता तथा त्रिभुवन चोकस्थित एसकुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको थियो ।

मृतकको शव लिन भारतको घटनास्थल श्रावस्ती पुगेर फर्केका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले राति १० बजे नै जमुनाहा नाकामा पुग्न १२० को स्पिडमा गाडी चलाउँदा गाईसँग ठोकिएर रुखमा गाडी ठोक्किँदा दुर्घटना भएको बताए । ‘१० बजे सीमा नाका बन्द हुनु अघि नै जमुनाहा पुग्छौं भनेर परिवारलाई खबर गरेका थिए’, वैश्यले भने, ‘सीमा बन्द भएपछि रुपैडियामा बस्नुपर्छ भनेर गाडी धेरै स्पिडमा आउँदै थियो । गाईसँग ठक्कर खाएपछि गाडी रुखमा ठोक्किएर दुई परिवारका ६ जनाको मृत्यु भएको हो ।’
भारतका विभिन्न सहरबाट नेपालगन्ज आउनेहरु राति १० बजे अघि नै जमुनाहा पुग्ने दवाबमा स्पिडमा गाडी चलाउने गरेको वैश्यले बताए । उनले भने, ‘सीमा नाकामा रातिको समयमा आवतजावत सहज बनाउन पहल गर्नुपर्छ । १० बजे पुग्न हाइस्पिडमा गाडी चलाउँदा धेरै नेपालीको ज्यान जोखिममा पर्ने गरेको छ ।’ सीमामा चेकजाँचमा कडाइ गरेर भए पनि कसैलाई पनि भारतीय क्षेत्रमा अलपत्र पार्न नहुने उनको भनाइ छ । भारतका विभिन्न सहरबाट रुपैडिया आउने गाडीले राति ल्याएर छोड्दै धेरै जना नेपालीहरु सीमामा लुटिने गरेका छन् ।