ढुंगा अभावमा राप्ती नदीको तटबन्ध रोकियोे

राप्ती नदीको तटबन्धका लागि ढुंगा लगिंदै । फोटो सौजन्य : कृष्ण ओली

नेपालगन्ज : राप्ती नदीमा भइरहेको तटबन्ध निर्माणको काम ढुंगाको अभावमा रोकिएको छ । राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियास्थित जनताको तटबन्ध कार्यालय लमहीमार्फत असार दोस्रो साताबाट थालिएको काम ढुंगा अभावमा बीचमै रोकिएको हो ।
नदी नियन्त्रणका लागि संघीय सरकारबाट असारको दोस्रो साता दुई करोड रूपैयाँ प्राप्त भएको थियो । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाका अनुसार तत्कालै अति जोखिममा रहेका राप्तीसोनारी–२ को कचनापुर र खल्ला झगडियामा तटबन्ध निर्माण थालिएको थियो । खल्ला झगडियामा तटबन्ध निर्माणको क्रममा ढुंगाको अभाव भएपछि काम बीचमै रोकिएको उनले बताइन् । ‘कचनापुरमा तटबन्धको काम लगभग सम्पन्न भइसकेको छ । खल्ला झगडिया करिब २५/३० प्रतिशत काम मात्रै हुनसक्यो,’ सांसद नमुनाले भनिन्, ‘त्यहाँ सबै काम हुन नसकेपछि आएको बजेट अन्य पुराना योजनामा खर्च भयो ।’ खल्ला झगडियामा पूरा काम नभएपछि बचेको रकम यसअघि नै सम्पन्न भइसकेको तटबन्धको कामको भुक्तानी दिनमा खर्च गरिएको जनताको तटबन्ध कार्यालयले जनाएको छ ।