संंघका पूर्वअध्यक्षद्वय श्रेष्ठ र वैश्यका साथै समावेशी संयोजक पोख्रेलद्वारा प्यानलमै मतदान गर्न अपिल

नेपालगन्ज : समावेशी प्यानलले नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी २ भाद्रमा हुन लागेको निर्वाचनमा आफ्नो प्यानलमा मतदान गर्न आममतदाता तथा उद्योगी व्यवसायीहरुसँग अपिल गरेको छ ।
समावेशी प्यानलका संयोजक र्ईश्वरप्रसाद पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले बिहीबार साँझ संयुक्त हस्ताक्षर गरी अपिल गरेका हुन् ।
समग्र बाँके क्षेत्रको प्रतिनिधित्व हुने सानादेखि ठूला व्यापारिक घरानासम्मका उद्योगी र व्यवसायीलाई उम्मेदवारहरुका रुपमा चयन गरेको पुनः स्मरण गराउँदै उनीहरुले समावेशी प्यानल एकताबद्ध भएर चुनावी अभियानमा जुटेको र एकतामा फुट ल्याउन, बैैमनस्यता कायम गर्न, उद्योगी व्यवसायीबीच फाटो ल्याउन अनेक भ्रम छर्ने, हुँदै नभएका कुराहरु अतिरञ्जित गर्ने इत्यादि खेलहरु हुनसक्ने तर्फ निकै संयम र चनाखो हुन मतदातालाई सचेत गराइएको छ ।
‘व्यक्तिगत स्वार्थ सिद्धि वा कसैको बहकाउमा लागेर वा भ्रामक सूचनाका आधारमा धारणा नबनाउन सम्पूर्ण उद्योगी व्यवसायीसँग आग्रह गर्दछौं । समावेशी प्यानलको एकता अक्षुण्ण राखेर तन, मन, बुद्धि, र बर्कतले पूरै प्यानललाई विजयी बनाउने अभियानमा लाग्न हामी सम्पूर्ण मतदाता, उद्योगी व्यवसायीहरुमा अनुरोध गर्दछौं’, अपिलमा भनिएको छ, ‘उद्योगी व्यवसायीबीचको एकता नै सिंगो समावेशी प्यानलको जित हो । उद्योगी व्यावसायीहरुको हित हो ।’