धेरै मतान्तर उपमहासचिव खड्का, अध्यक्ष धामी र उपाध्यक्ष ओलीको (जित्नेको मतसहित)

संघको नवनिर्वाचित अध्यक्ष टंकबहादुर धामी (बीचमा) उपमहासचिव टेकबहादुर खड्का (बायाँ) र उपाध्यक्ष उद्योग चिरञ्जीवी ओली (दायाँ)

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सबैभन्दा बढी मत अन्तर उपमहासचिव पदका उम्मेदवार टेकबहादुर खड्काले ल्याएका छन् ।
संघको निर्वाचन आयुक्त टीकाजंग सिंहका अनुसार उम्मेदवार खड्काले आफ्ना प्रतिद्वन्द्वी मदनराज शर्माभन्दा ९६८ मत अन्तरले विजयी भएका छन् । खड्काले दुई हजार ८४ र मदनराज शर्माले एक हजार ११६ मत ल्याएका छन् ।
संघको अध्यक्षमा समावेशी प्यानलका उम्मेदवार टंकबहादुर धामी आइतबार नै निर्वाचित भएको घोषणा गरिएको थियो । धामीले साझा प्रजातान्त्रिक समूहका ललितकुमार रौनियारलाई ८८८ मतको अन्तरले पराजित गरेका थिए । धामीले दुई हजार ४५६ मत र रौनियारले एक हजार ५६८ मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा उपाध्यक्ष (उद्योग)का उम्मेदवार चिरञ्जीवी ओलीले आफ्ना प्रतिद्वन्द्वी मो. सफिक बेहनाभन्दा ८७२ मतान्तरले विजयी भए । ओलीले दुई हजार १०५ मत र बेहनाले एक हजार २३३ मत ल्याए । अर्का उपाध्यक्ष दीपेन्द्रकुमार जोशीले ३१६ मत ल्याएका छन् । उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने एक हजार ७७६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विष्णु श्रेष्ठले एक हजार ४६७ मत ल्याए । मतान्तर ३०९ रहेको छ ।
उपाध्यक्ष (महिला) मन्दिरा पाण्डेमा एक हजार ८७७ मत ल्याएर विजयी भएकी छन् । पाण्डेले प्रतिद्वन्द्वी करिष्मा योगीभन्दा ३८३ बढी मत ल्याइन् । योगीले एक हजार ४९४ मत ल्याइन् । कोषाध्यक्ष पदमा मख्खन धामी ६३५ मतान्तरले विजयी भए । धामीले दुई हजार ८९ र उनका प्रतिद्वन्द्वी सलाउद्दिन जसगढले एक हजार ४३६ मत ल्याए । महासचिव पदमा भीमबहादुर रानाभाट ६ मतले विजयी भएका छन् । धामीले एक हजार ९२६ मत र उनका प्रतिद्वन्द्वी टंकप्रसाद शर्माले एक हजार ९२० मत ल्याएको भन्दै निर्वाचन आयुक्तले विजय भएको घोषणा गरेका थिए । साझा प्रजातान्त्रिक समूहले मतगणनामा धाँधली भएको भन्दै आयुक्तकोे कार्यालयमा उजुरी दिँदै आयुक्तलाई थुनेर मतदानस्थलमा तालाबन्दी गरेपछि महासचिव पदमा मात्र मंगलबार बिहान ८ बजेतिर पुनः मतदान गर्ने सहमति भएको निर्वाचन अधिकृत शान्ता पोखरेलले जानकारी दिइन् ।

संघको १० सदस्यमा समावेशी प्यानलका ७ र साझा प्रजातान्त्रिक समूहका तीन जना निर्वाचित भएका छन् । संघको सदस्यमा विष्णु श्रेष्ठ, डम्बर बहादुुुुर चन्द, शिवप्रसाद श्रेष्ठ, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन के. सी., युवराज ढकाल, टीकामणि उपाध्याय, बुद्धिबहादुर वि.के. र सन्तोषकुमार पौडेल विजयी भए । एशोसियट सदस्यमा कमलकुमार कार्की र प्रदीपकुमार गुप्ता, सम्बद्ध सदस्यमा किशन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ मत ल्याएर विजयी भएका छन् । दुई सदस्य निर्वाचित हुने सम्बद्ध सदस्यमा पौडेल र श्रेष्ठको बराबर मत आएपछि आधा आधा कार्यकाल बाँड्ने सहमति भएको छ । संघको यो निर्वाचनमा चार हजार ९२२ मतदाता थिए । ८३.९४ प्रतिशत अर्थात चार हजार १३२ मत खसेको थियो ।