विश्वभरका हिन्दुले श्रीकृृष्ण जन्माष्टमी मनाउँदै

नेपालगन्ज : विश्वभर छरिरहेका हिन्दु धर्मालम्वीहरुले बुधबार विविध कार्यक्रम गरेर श्रीकृृष्ण जन्माष्टमी मनाउँदैछन् । कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
पुराणहरूका अनुसार द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई दिएको गीता ज्ञान प्रख्यात छ ।