गरिबसँग स्थानीय सरकार कार्यक्रम लागू गर्दै नेपालगन्ज

नेपालगन्ज : नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
उपमहानगरपालिकाले साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्दै गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको हो। गोविन्दप्रसाद रेग्मीले संयोजक रहेको कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले तयार गरेको मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगर प्रमुख प्रशान्त विष्टलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । नगर कार्यपालिकाबाट पारित भएपछि राजपत्रमा प्रकाशित गरी कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।

‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ मार्फत नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका लक्षित समुदायहरुमध्ये आर्थिक क्रियाकलापका दृष्टिले निष्क्रिय जनशक्तिहरुलाई व्यवसायिक गतिविधिहरुमा सरिक गराउन नवीनतम प्रविधि, ज्ञान र सीपका आधारमा व्यवसायिक लगानी योजना तयार गरेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने गरी प्रस्तावित योजनाका लागि कर्जा उपलब्ध गराइने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिए । सहरी सुशासन, जनसहभागिता प्रबद्र्धन र आर्थिक सशक्तिकरण गरी सबै नगरवासीहरुले देखेको आफ्नो समृद्धिको परिकल्पना साकार पार्न सक्ने गरी ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ ।