शम्शेरगन्ज बस दुर्घटना : मृतक सातै जनाको पहिचान खुल्यो, २ जना आइसीयुमा

नेपालगन्ज : पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शम्शेरगन्ज नजिक बस दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ ।
मृतक ६ जनाको पहिचान खुले पनि सहचालकको भने पहिचान भएको थिए। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले मृतक सहचालक बर्दियाको बारबर्दिया नगरपालिका ७ रम्मापुरका ३४ वर्षीय वसन्त कार्की रहेको जानकारी दिए।
साथै मृत्यु हुने अन्य ६ जना ठाकुरबाबा–९ की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुबहादुर चन्द (ठाकुरबाबा–८) हुन्।
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग शुक्रबार राति ९ः१५ मा ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको मृत्यु भएको हो।
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीका ठाकुरबाबा नगरपालिका वडा ९ को बेतहनी सामुदायिक वन समितिको पदाधिकारी सहितको भ्रमण टोली दाङको धारापानी पुगेर बर्दिया फर्किने क्रममा दुर्घटनामा परेको थियो ।
बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम, १५ जना सामान्य घातइते भएको प्रहरीले जनाएको छ। अन्य ५ जना भने सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका ठाकुरबाबा ९ का बलबहादुर थारु र रामु थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसीयुमा राखेर उपचार भइरहेको छ । टाउकोमा चोट लागेका सरस्वती थापा र महिनबहादुर थारुको पनि शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।