बाघले मान्छे मारेपछि ओराली बजारमा स्थानीयले गरे हुलाकी राजमार्ग अवरोध (फोटो फिचर)

शिरीष रेग्मी । ओराली बजार (बर्दिया)
बर्दियाको मधुवन नगरपालिकाको हुलाकी राजमार्गमा पर्ने ओराली बजार क्षेत्रमा स्थानीयले एक घण्टा बढी चक्काजाम गरी अवरोध गरेका छन् । जंगलमा घाास काट्ने क्रममा मधुवन नगरपालिका वडा नं. ३ भगरैयाकी ५२ वर्षीया काली वंशी मगरको शुक्रबार मात्र बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय ढोढरीका इन्सपेक्टर बखतबहादुर शाहीका अनुसार हात्ती लगायतका जंगली जनावरले बालीनाली नोक्सान गर्ने र पटक पटक बाघको आक्रमणबाट स्थानीयको ज्यान जान थालेपछि स्थानीयले वन्यजन्तुको समस्या दीगो समाधान गर्नुपर्ने माग गर्दै सडक अवरोध गरेका हुन् । इन्सपेक्टर शाहीले भने, ‘वन्यजन्तु प्रभावित यो क्षेत्रको बस्तीलाई सरकारले दीगोे रुपमा समस्याको समाधान गर्नुपर्छ भनेर माग गर्नु भएको छ ।’

जंगल किनारको बस्तीमा सधैं वन्यजन्तुबाट सधैं सास्ती भोग्नुपर्ने अवस्था रहेको भन्दै सरकारले माग पूरा नगर्दासम्म आन्दोलन गरिरहने चेतावनी दिएका थिए । जंगलमा आश्रित हुँदा बाघले मान्छे मार्ने र जंगली हात्ती आएर घर भत्काइदिने र अरु वन्यजन्तुले बाली पनि खाइदिने गरेको गुनासो गरे ।
मधुवनको सो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गमा पर्छ । सो क्षेत्र भारतको कतरनियाँघाट निकुञ्जसँग पनि जोडिएको छ । खाता जैविक मार्गमा हरेक वर्ष स्थानीयको ज्यान जाने गरेको छ ।