बाँके निकुञ्जमा टाइम कार्ड नहुँदा बढिरहेछन् दुर्घटना

शंकरप्रसाद खनाल । नेपालगन्ज
पूर्व–पश्चिम राजमार्गमा बाँकेको शम्शेरगन्ज नजिक शुक्रबार राति बस दुर्घटना हँुदा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनीका सात जनाको मृत्यु र २५ जना घाइते भए । इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नं.को बस बाँकेको राप्तीसोनारि ८ शम्शेरगन्ज नजिक बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नं.को ट्रकसँग शुुक्रबार राति ठोक्किँदा बसमा सवार ४१ जनामध्ये चार पुरुष र तीन महिलाको निधन भएकोे होे ।
पूर्वपश्चिम राजमार्गको बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागू नहुँदा हाइस्पिडका कारण सवारी दुर्घटनामा मानवीय र वन्यजन्तुको ज्यान जाने गरेको छ । शुक्रबारको घटना पहिलो र अन्तिम होइन ।
गत १६ जेठ २०८० मा बाँकेको अगैयामा कार र बस एकआपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका ८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजेतिर पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फबाट जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार एकआपसमा ठोक्किँदा कारमा सवार सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रुपन्देही निवासी ५३ वर्षकी डा. सञ्जु खाती खड्का र कार चालक गोरखा निवासी अन्दाजी ३४ वर्षीय सुवास अधिकारीको मृत्यु भएको थियो ।
१९ जेठ २०७७ पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा लकडाउनका बेलामा भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी मध्यराति १२ बजेतिर सडकमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।
९ असार २०७७ मा पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१ गाभरमा पूर्वबाट पश्चिमतर्फ हाइस्पिडमा आएको बा १४झ २७८९ नं. को कार अनियन्त्रित भइ सडकको दाहिनेतर्फ खस्दा सडक छेउको रुखमा ठोकिँदा कार चालक भरतपुर महानगरपालिका–१२, चितवनका ४१ वर्षीय कमलराज लम्साल र कारमा सवार पूर्वीनवलपरासी कावासोती–८ का २२ वर्षीय क्षितिजराज कुँवरकोे मृत्यु भएको थियो ।
विगत ६ महिना यता पूर्व पश्चिम राजमार्गमा भएका दुर्घटनाका दर्जन बढी मृतकको सनाखद मुचुल्का र घाइतेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारी राजमार्ग क्षेत्रका अधिकांश दुर्घटना हाइस्पिडका कारण भएको बताउँछन् । डीएसपी तिवारी भन्छन्, ‘बर्दिया निकुञ्जमा जस्तै बाँके निकुञ्जमा पनि टाइम कार्ड लागू गर्न सक्ने हो भने धेरै वटा दुर्घटना र धेरै जनालाई अकालमा मृत्यु हुुनबाट जोगाउन सकिन्छ ।’ बाँके राष्ट्रिय निकुञ्जले टाइम कार्ड लागू गर्दा सवारीमा ठोक्किएर हुने वन्यजन्तुको मृत्यु पनि रोकिने तिवारी बताउँछन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्र्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाह पनि निकुञ्जभित्र हाइस्पिडका कारण दुर्र्घटना हुने भएकाले टाइम कार्डको आवश्यकता बढेको बताउँछन् । वार्डेन शाह भन्छन्, ‘टाइम कार्ड लागू गर्नका लागि अगैयामा नेपाली सेनाको पोस्ट् स्थापना गर्नुपर्छ । त्यसो हुनसके अगैया–ओभरी क्षेत्रमा भए पनि टाइम कार्ड लागू गर्न सकिन्छ । अरु ठाउँमा बस्ती भएकाले सम्भव हुँदैन ।’ बाँके निकुञ्जको करिब २० किलोमिटरको दुरीमा रहेको अगैया–ओभरी बढी दुर्घटना क्षेत्रमा पर्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख इन्सपेक्टर गोपीकृष्ण सुवेदीका अनुसार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा ०७७÷०७८ देखि ०७९ ÷८० सम्म तीन आर्थिक वर्षमा ४२८ वटा सवारी दुर्घटना भएकोमा ५६ वटा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्र भएका छन् । जुन जिल्लाको कूल दुर्घटनाको १३ प्रतिशत हो । दुर्घटनामा १६५ जनाको ज्यान गएको छ । निकुुञ्ज क्षेत्रमा मात्र ४४ जनाको ज्यान गएको छ । जिल्लामा दुर्घटनामा भएका मृत्युको २६.६६ प्रतिशत मृत्यु निकुञ्जमा भएको छ ।

बर्दिया निकुञ्जले पूर्व पश्चिम राजमार्गमा कार्यान्वयनमा ल्याएको टाइम कार्ड

बर्दिया निकुञ्जमा टाइम कार्डको सफलता
बर्दिया राष्ट्रिय निकुञ्जले नेपाली सेनाको चिसापानी-अम्रेनी र सैनावार-रम्मापुर पोस्ट्मा टाइम कार्ड लागू गरेको छ । यी दुबै क्षेत्रमा निकुञ्जभित्र प्रतिकिलोमिटर ४० को स्पिडका दरले गाडी चलाउन पाइन्छ । गाडी चालकलाई एउटा पोस्ट्ले २२ मिनेटको टाइम कार्ड दिने गरेको छ । बर्दिया निकुुञ्जका सूचना अधिकारी आशिष न्यौपाने टाइम कार्ड लागू गरेपछि सवारी दुर्घटना र सवारीको ठक्करबाट वन्यजन्तुकोे ज्यान जाने घटना न्यूनिकरण भइरहेको दाबी गर्छन् । ‘निकुञ्जमा छिटो जान पनि पाइएन । ढिलो जाँदा पनि कारबाही हुन्छ । ४० को स्पिडमा चलाउँदा गाडी नियन्त्रण गर्न सकिन्छ’, उनले प्रष्ट पारे, ‘नियम उल्लंघन गर्ने सवारी धनीलाई कम्तीमा पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।’ निकुञ्जकोे रम्मापुर चेकपोस्ट्मा कार्यरत संरक्षण अधिकृत विष्णु रोकाय दैैनिक एक दुई जना कारबाहीमा परिरहेको बताउँछन्् । उनी हाइस्पिडका कारण एउटा पनि गाडी दुर्घटनामा नपरेको बताउँछन् ।
जिल्ला ट्राफिक कार्यालय बर्दियाका सइ नरेन्द्र सिंंह टाइम कार्डका कारण बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा निकै कम दुर्घटना हुने गरेको बताउँछन् । जिल्लामा तीन वर्षको अवधिमा २७१ वटा दुर्घटनामा ११६ जनाले ज्यान गुमाएका छन् । जिल्लामा सबैभन्दा धेरैै मोटरसाइकल दुर्घटना भएको छ । ज्यान पनि मोटरसाइकल दुर्घटनामा धेरैको ज्यान जाने गरेको जिल्ला ट्राफिक कार्यालयको रेकर्डले देखाउँछ ।