विद्यालयमा विश्रामकक्ष, महिनावारीमा छुट्दैन छात्राको कक्षा

कुसुम्बा बजार (बर्दिया) : बर्दियाको मधुवन नगरपालिका–७ दसरथबस्तीको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विश्रामकक्ष बनाएको छ । कक्षा ८ की छात्रा सन्धा भण्डारी विश्रामकक्ष स्थापना भएपछि अब विद्यालयमा नियमित उपस्थित हुन समस्या नहुने बताएकी छिन् । उनी भन्छिन्, ‘महिनावारी भएको बेलामा पेट दुख्ने समस्या हुन्थ्यो । दिनमा पटक पटक सेनेटरी प्याड फेर्नु पथ्र्यो । विश्राम कक्ष स्थापना भएपछि अब विद्यालय नियमित रुपमा कक्षामा सहभागी हुन पाउने भएपछि खुसी छु ।’ विश्रामकक्षमा दुखाइ कम गर्ने औषधि र स्यानेटरी प्याड निःशुल्क पाइन्छ । आरामका लागि आवश्यक सामग्री राखिएको छ । विश्रामकक्ष निर्माण भएपछि भण्डारी जस्तै विद्यालयमा कक्षा ६–८ मा अध्ययनरत करिब ५५ जना छात्राहरुलाई महिनावारी भएको बेला विद्यालय अनुपस्थित हुने समस्या टरेको छ ।
।‘पहिले पहिले महिनावारी भएको बेला छात्राहरू विद्यालयमा आउँदैनथे । आए पनि पेट दुखेको छ भनेर बीचमै कक्षा छाडेर घर जाने गर्थे,’ विद्यालयका प्रधानाध्यापक प्रदीप रिजालले अनुभव सुनाए, ‘अब महिनावारी भएका छात्रा निर्धक्कसँग विश्राम कक्षमा गएर आराम गर्छन् र एकछिनपछि कक्षामा सहभागी हुन्छन् ।’
प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि विमल गैरेले नेपाल राष्ट्रिय आधारभूत बिद्यालय दसरथबस्ती र गेरुवा गाउँपालिका ४ को श्री सरस्वती आधारभूत विद्यालयमा महिनावारी हुने छात्राहरूको समस्यालाई मध्यनजर गर्दै विश्राम कक्ष निर्माण गरिदिएको बताउँछन् । विश्रामकक्षमा आराम गर्नका लागि बेड, बेड म्याटिक्स, प्याड राख्ने क्याबिन, कार्पेट, पीफम,इ लोक्टोनिक बर्निङ मेसिन, बेट सिट, ब्लाङकेट, महिनावारी कक्षका लागि आबश्यक सामग्रीहरूको व्यवस्था गरेको गैरेले प्रष्ट पारे ।
सरस्वती आधारभूत विद्यालयका प्रअ नारायणप्रसाद पौडेल विश्रामकक्ष बनेपछि महिनावारी भएको बेला छात्रा अनियमित हुने दर घट्ने अपेक्षा गरेको बताउँछन् ।
प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बि ग्रुपको साझेदारीमा एउटा विद्यालयका लागि एक लाख ४५ हजार ८०० सयका दरले २ वटा विद्यालयमा दुई लाख ९१ हजार ६०० रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण र सामग्रीहरु हस्तान्तरण गरिएको छ ।