बाँकेमा पूर्व-पश्चिम राजमार्गमा पड्किएको के होे ? के-के भेटियो ?

नेपालगन्ज : बाँकेको राप्तीसोनारी-९ ढकेरी नजिक्रै पूर्व पश्चिम राजमार्गमा आइतबार ठूलो भ्वांग पयो । विष्फोटनपछि तीन फिट गहिरो र ४० फिटको गोलाइमा खाडल बनेको थियो । घटनाबारे थाहा पाएपछि नेपाली सेनाको टोली घटनास्थल पुगेर थप बम वा माइन भए नभएको बारे राजमार्ग खनेर लागेको थियो ।
घटनास्थल ढकेरीदेखि २ किलोमिटर पूर्वमा पर्छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारी वनका एक जना कर्मचारीले बिहान ३ः३० बजेतिर ठूलो विष्फोटनको आवाज सुनेको भनेको बाहेक कसैले पनि विष्फोटनबारे थाहा पाएनन् । डीएसपी तिवारी भ्वांग परेको अवस्था हेर्दा निकै ठूलो आवाज आएको हुनसक्ने आँकलन गर्छन् । विष्फोटक पदार्थ के थियो भन्ने अहिले नै पत्ता लागिसकेको छैन । चुना र खिया लागेका मसिनो र पातलो तार घटनास्थलमा भेटिएकाले माइन हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगी आँकलन गर्छन् । सशस्त्र संघर्षका बेलामा त्यो माइन माओवादीले सुरक्षाकर्मीलाई लक्षित गरेर राखेकोे तर निकाल्न बिर्सेको आशंका गरिएको छ । आइतबार दिउँसो नै सडक डिभिजन कार्यालयले राजमार्गको मर्मत गरेको थियो ।