जित्ने दाउ छोडेर टिम जिताउन उम्मेदवारी फिर्ता लिने राजीव अन्ततः भए संघ सदस्य

नेपालगन्ज : उम्मेदवारीको पहिलो अनुभव थियो । अदम्य उर्जा थियो । सक्रियता उस्तै । मनमा अनेकौं जिज्ञासा थिए । हारजितको छक्कापञ्जा, रणनीति र राजनीतिबारे अनभिज्ञ थिए । १८२ मतदातामध्ये अंक गणितका आधारमा त औंला गनेरै मतदान अघि नै जित सुनिश्चित थियो । उनका विरुद्ध न कसैको दाबी विरोध नै थियो । टिमसँगै मत माग्न थालिसकेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका संजयकुमार अग्रवाललाई समावेशी प्यानलमा अटाउन कमलकुमार कार्की वा राजीवमध्ये एकले मैदान छोड्नुपर्ने भयो ।
‘टिम बलियो हुन्छ भने म जस्तोसुकै त्याग गर्न तयार छु’, नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट एशोसियट सदस्य पदका उम्मेदवार राजीव तेलंगाले समूहका अगुवासँग परामर्श नै नगरेर सचिवालयमा उम्मेदवारी फिर्ताको कागजमा हस्ताक्षर गरे । जित्नै लागेको चुनावी मैैदान छोड्नु पर्दा उनमा अलिकति पनि पीडा थिएन । हाँसीहाँसी उम्मेदवारी फिर्ता लिए । उम्मेदवार नभए पनि उम्मेदवार जत्तिकै चुनावी मैदानमा सक्रिय भए । निर्वाचनमा समावेशी प्यानलबाट एशोसियट सदस्यमा कमलकुमार कार्की कूल मतदाताको ७१.६८ प्रतिशत मत ल्याएर विजयी भए । १८२ एशोसियटका मतदातामध्ये १६६ मत खसेको थियो । जसमा कार्की ११९ मत ल्याएर विजयी भए । अर्को एक सदस्यमा साझा प्रजातान्त्रिक प्यानलका प्रदीपकुमार गुप्ताले ८८ मत ल्याएर बाजी मारे । जसका लागि राजीवले त्याग गरे, संजयकुमार अग्रवालले त सबैभन्दा कम ४२ मत मात्र ल्याए । उनलाई साझा प्रजातान्त्रिकका पुरुषोत्तम अग्रवालले ५८ मत ल्याएर उछिने । नतिजापछि राजीव भएको भए जीत सुनिश्चित हुने धेरैले आँकलन गरे । जितेर पनि हार्न तयार भएका राजीव अन्ततः संघको सदस्य बनेरै छाडे । प्यानल जिताउन त्याग गरेको उपहार स्वरुप मंगलबार बसेको संघको बैठकले उनलाई सदस्यमा मनोनित गरेको छ । ‘टिम जितेर त म पनि सदस्य हुन पाएँ । निकै खुसी छु’, उनले मेरोखुसीसँगको टेलिफोन सम्पर्कमा भने प्रतिक्रिया दिए ।

स्वतन्त्र उम्मेदवारी दिए पनि समावेशी प्यानल जिताउन उम्मेदवारी फिर्ता लिएर चुनावी अभियानमा दिलोज्यान दिएर लागेका नन्दाराम जैसी पनि संघको सदस्यमा मनोनित भएका छन् । बरिष्ठ सदस्यमा अब्दुल जलील मन्सुरी (मुन्ना), महिला सदस्यमा उमा ग्रान्डन र सोनाली गुप्ता मनोनीत गरेको संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए । त्यसैगरी संंघको प्रवक्तामा डम्बरबहादुर चन्दलाई चयन गरिएकोे छ ।