विद्यालयमा वासका करोडौंका संरचना, छैन मर्मत सम्भार कोष

रामपुर (बाँके) : बाँकेका सामुदायिक विद्यालयमा खानेपानी तथा सरसफाइ (वास)का लाखौं रुपैयाँ बराबरका संरचना बने पनि मर्मत सम्भार कोष नहुँदा बिग्रँदा, भत्किँदा कामचलाउ मर्मत मात्र हुने गरेको एक अध्ययनले देखाएको छ ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्वारा सञ्चालित संस्थागत खानेपानी तथा स्वच्छता परियोजनाले बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका १३ वटा विद्यालयमा गरिएको अध्ययनले ती विद्यालयमा चार करोड ३२ लाख २९ हजार ८९९ रुपैयाँका संरचना बनेका छन् । जुन एउटा विद्यालयमा वासका संरचनामा औसत ३३ लाख २५ हजार ३७७ रुपैयाँको लगानी भएको छ । कुनै पनि विद्यालयमा मर्मत सम्भार कोष नभएको अनुसन्धानकर्ता हरि सुवेदीले बताए । उनका अनुसार १३ वटै विद्यालयमा वार्षिक रुपमा १३ लाख ६९ हजार ९०७ रुपैयाँको मर्मत सम्भार कोष आवश्यक देखिएको छ । जुन प्रति विद्यालय एक लाख पाँच हजार ३७७ रुपैयाँ बराबरको मर्मत सम्भार कोष आवश्यक छ ।
कोेहलपुरका ६ वटा विद्यालयमा दुई करोड २७ लाख ७५ हजार ४९९ रुपैयाँका संरचना छन् भने ती विद्यालयमा वार्षिक ६ लाख ४३ हजारको मर्मत सम्भार कोष आवश्यक रहेको अध्ययनले देखाएको सुवेदी बताउँछन् । उनका अनुसार बैजनाथ गाउँपालिकाका ७ वटा विद्यालयमा दुई करोड चार लाख ५४ हजार ४०० सय रुपैयाँका संरचना बने पनि ती विद्यालयमा वार्षिक रुपमा सात लाख २६ हजार ८९७ रुपैयाँको मर्मत सम्भार कोष आवश्यक छ । गेरुवा ग्रामीण जागरण संघका कार्यकारी निर्देशकसमेत रहेका सुवेदी भन्छन्, ‘करोडौं रुपैयाँका वास संरचना छन् । मर्मत सम्भार नहुँदा चाँडो चाँडो बिग्रने गरेका छन् । ती संरचनाको दीगोपनाका लागि मर्मत सम्भार कोष आवश्यक रहेको अध्ययनले देखाएको छ ।’
संघले कोहलपुर नगरपालिकाका ६ वटा र बैैजनाथ गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्थामा पनि वासका संरचनाको अवस्थाबारे अध्ययन गरेको थियो । स्वास्थ्य संस्थामा वास संरचनाको मर्मत सम्भार शीर्षकमै नभए पनि विविध शीर्र्षकमा केही बजेट आउने गरेको भए पनि त्योे पर्याप्त नहुने गरेको अध्ययनले देखाएको छ । अध्ययनबाट आएको सुझावका आधारमा कोहलपुर नगरपालिकाले भने चालु आर्थिक वर्षभित्रै सबै विद्यालयमा स्वच्छ खानेपानी पु¥याउने नगर प्रमुख पूर्ण आचार्यले प्रतिबद्धता जनाएका छन् ।