राष्ट्रिय मानव अधिकार आयोगद्वारा बालसुधार गृहको अनुगमन सुरु

नेपालगन्ज : राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन सुरु गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृहमा गत ४ असोजमा झडपमा एक जनाको मृत्यु भएपछि आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जको टोलीले निरन्तर अनुगमन गरिरहेको छ भने आयोग केन्द्रीय कार्यालयको टोलीले मंगबार भक्तपुरको मध्यपुरस्थित बाल सुधारमा भएको घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गर्न खटेको थियो । आयोगको टोलीले अस्पताल पुगेर झडपका घाइतेहरुको अवस्था पनि बुझेको थियो ।
जयेन्दु बाल सुधार गृृहका प्रमुख विमला काउचाका अनुसार घटनाको राति, अर्को दिनदेखि आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी नेतृत्वको आयोग टोलीले निरन्तर अनुगमन र घटनाबारे जानकारी लिइरहेको बताइन् । प्रमुख काउचाले भनिन्, ‘बाल न्याय समितिको बैठकमा पनि आयोग प्रमुख अधिकारी मेडम बस्नु भएको थियो । बालसुधार गृहको समस्या समाधानका लागि बाल न्याय समन्वय समितिका संयोजक, जिल्लाका सुरक्षा अधिकारी सबै चिन्तित हुनु भएको छ । पक्कै कुनै निकास आउँछ ।’
बालसुधार गृहहरूमा समस्या देखिएपछि आयोगले बाँके, रुपन्देही, मोरङ, पर्सा, मकवानपुर, भक्तपुर, कास्की र डोटीका आठ वटै बालसुधार गृहहरूको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूलाई पत्राचार गरेको जनाएको छ ।