रहस्यमय : चौपाया मारेर कसरी म-यो पाटे बाघ ?

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित अशोक सामुदायिक वनमा शव फेला परेको पाटेबाघ । सौजन्य : डिभिजन वन कार्यालय बाँके

नेपालगन्ज : बाँकेको कम्दी जैविक मार्गमा पर्ने एक सामुदायिक वनमा एउटा बृद्ध पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
डिभिजन वन कार्यालय बाँकेका अधिकृत रमेश बुढाथोकीका अनुसार राप्तीसोनारी गाउँपालिका–२ स्थित अशोक सामुदायिक वनमा मंगलबार राति ८ः३० बजेतिर अन्दाजी १४ वर्षको पाटेबाघको फेला परेको हो ।
सामुदायिक वनको काठदाउरा घाटगद्दी गर्ने स्थानमा स्थानीयले किला ठोकेर बाँधेका चार वटा गाईगोरु मारेको अन्दाजी १३७ फिटको दुरीमा बाघ पनि मृत अवस्थामा फेला परेको अधिकृत बुढाथोकीले प्रष्ट पारे । स्थानीयको चौपाया मारेको र बाघ पनि मृत अवस्थामा फेला परेको बारे जानकारी पाएपछि डिभिजन वन कार्यालय बाँकेको टोलीले मंगलबार राति नै बाघको शव नेपालगन्ज ल्याइएको थियो । बुधबार दिउँसो बाघको पोस्ट् मार्टमका लागि शरीरका अंग संकलन गरिएको छ । नेपालगन्जस्थित भेटेरिनरी अस्पतालमा भइरहेको ल्याबको रिपोर्ट भने अझै आइसकेको छैन ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले पनि बाघ किन मरेको भन्ने पत्ता लाग्न नसकेको बताए । ‘बाहिरबाट हेर्दा शरीरमा कुनै त्यस्तो चोट पटक लागेको देखिँदैन । अहिले नै बाघ किन म¥यो भन्न सकिँदैन । पोष्टमार्टम रिपोर्टले नै बताउँला ।’ केही समय अघि चार चौपाया मारेको दाह्रा, नङ्ग्रा सबै राम्रा भएका पाटेबाघको कसरी मृत्यु भयो ? यो रहस्यमय भएको छ ।