रास्वपाले उद्योगमा पार्टी संगठन खोल्दैन : रवि लामिछाने

नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीसँग चन्दा नमाग्ने र कुनैै पनि उद्योग कलकारखानामा दलको संगठन र भातृसंगठन नखोल्ने बताएका छन् ।
पार्टीको नेपालगन्ज उपमहानगरपालिका भेलाको शनिबार उद्घाटन गर्दै सभापति लामिछानेले उद्योगी व्यवसायीलाई निर्धक्क रुपमा काम गर्न आग्रह गरे । उनले भने, ‘तपाईको करखाना तथा उद्योग व्यवसायभित्र मेरो दलको कुनै संगठन हुँदैन । कुनै भातृसंगठन हुँदैन । ढुक्क भएर काम गर्नुस् । तपाईहरुले कसैलाई चन्दा पनि दिनुपर्दैन ।’
कार्यक्रममा प्रखर वक्ता तथा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईले नेपालगन्जमा जनप्रतिनिधि कसलाई बनाउने भन्ने निर्णय रास्वपाको स्थानीय कमिटीले गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार बन्दै गर्दा आफूभन्दा अब्बल ब्यक्ति भए चुनावी अभियानमा कम्मर कसेर लाग्ने पनि बताए ।
भेलाले रास्वपा नेपालगन्ज उपमहागरपालिकाको नगर सभापतिमा गुप्तबहादुर खड्का (नवीन)को नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन गरेको छ । उप सभापति अर्चना पोखरेल, सचिव घनश्याम भट्ट र कोषाध्यक्ष बुद्धिसागर सुवेदी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद मरासिनी, हरिलाल उपाध्याय, असलम अलि कबडिया, नरेन्द्र श्रेष्ठ, स्नेहा प्रसाई , नीभाकुमारी सोनी र विनिता आचार्यलाई सर्वसम्मत रुपमा चयन गरेको छ । रास्वपाका लुम्बिनी प्रदेश महामन्त्री नीलराज अधिकारीले नवनिर्वाचित पदाधिकारी सदस्य तथा विभाग प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।