नेपालगन्जमा मंगलबारको झडपका २१ घाइते डिस्चार्ज

नेपालगन्ज : नेपालगन्जकोे वीपी चोकमा मंगलबार भएको झडपमा घाइते २१ जना निको भएर घर फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार पाँच जना सुरक्षाकर्मीसहित २२ जना घाइते भएकोमा एक जनाको मात्र भेरी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका धेरै जसो मंगलबार र केही बुधबार अस्पतालबाट डिस्चार्र्ज भएका हुन् ।
स्थिति नियन्त्रणमा आइसके पनि धार्मिक सद्भाव खल्बलिने खतरा बढेपछि मंगलबारदेखि लगाइएको कफ्पूर्m भने बुधबार पनि जारी नै छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीले बुधबार बिहान विज्ञप्ती जारी गरी अनिश्चितकालीन कफ्र्यू यथावत नै रहेको जानकारी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गरी सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामग्री नराख्न आग्रह गर्दै त्यस्ता गतिविधि गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरु प्रचार प्रसार नगर्न, नगराउन अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।’
त्यसैगरी जिल्ला प्रहरीले पनि सामाजिक सञ्जालमा धार्मिक सद्भाव भड्काउने पोस्ट, कमेन्ट नगर्न तथा सद्भाव जगाउने सकारात्मक भावना अभिव्यक्त गर्न आग्रह गरिएको छ ।