नेपालगन्जमा दिनभर निषेधाज्ञा, राति कर्फ्यू

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा जारी दिउँसोको कर्फ्यू हटाएर १२ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बिहीबार बिहान एक सूचना प्रकाशित गरी कर्फ्यू लगाएको चार किल्ला क्षेत्रमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा लगाएको जनाएका छन् । रातिको ८ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्यू यथावत नै छ ।
निषेधाज्ञाको समयमा नेपालगन्जको पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर जाने बाटो, दक्षिणमा जमुनाहा नाका र उत्तरमा राँझा चोकसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
बुधबार नेपालगन्जमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले कफ्र्यू खुकुलो बनाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा अनुरोध गरेको छ ।