राउटे समुदायलाई राहत वितरण
दैलेख : लोपोन्मुख राउटे समुदायलाई राहत वितरण गरिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको टोलीले दैलेको भैरवी गाउँपालिका वडा नं २ रावतकोटमा रहेका राउटे समुदायलाई गाउँमा पुगेर खाध्यान्न, दाल, चामल, पाल, कपडा तथा कम्मल लगायतका राहत सामग्री वितरण गरेको हो ।
प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको विशेष उपस्थितिमा भएको राहत वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव दिवश राई, स्थानीय निर्वाचित जनप्रतिनिधिहरू, कर्णाली प्रदेश मुख्य सचिव खगेन्द्र पुन, जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्साललगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यक्रमलाई सहजीकरण गर्दै डम्मर गरङ्जा मगरले लोपोउन्मुख राउटे समुदाय संकटबाट गुज्रिरहेको जानकारी प्राप्त भए पश्चात् उनीहरूको दैनिक जीवनयापनमा सहज होस भन्नका लागि राहत वितरण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘अब चिसो समय सुरू हुन लागिसकेको छ । जंगलमा बसिरहेका समुदायलाई चिसोबाट बच्नका लागि न्यानो कपडा हस्तान्तरण गरेका छौ ।’
भैरवी गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले गाउँपालिकामा बसोबास गरिरहेका र संकटबाट गुज्रिरहेका राउटे समुदायलाई दैनिक जीवन सहजीकरणका लागि सहयोग गर्ने प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरिन् ।