स्प्रिङ डेल स्कुलद्वारा नेपालगन्जमा नमुना संयुक्त राष्ट्रसंघ सभा गरिँदै

नमुना संयुक्त राष्ट्रसंघ सभाबारे नेपालगन्जको स्प्रिङ डेल स्कुलमा अभिमुखीकरण कार्यक्रम

नेपालगन्ज : बाँकेको स्प्रिङ डेल एकेडेमीले नेपालगन्जमा पहिलो पटक नमुना संयुक्त राष्ट्रसंघ सभा आयोजना गर्न लागेको छ ।
ब्रिटिस काउन्सिलबाट इन्टरनेशनल स्कुल अवार्र्ड पाएको नेपालगन्ज–१८ कारकाँदोको स्प्रिङ डेल स्कुलले आगामी फागुन महिनामा नमुना संयुक्त राष्ट्रसंघ सभा आयोजना गर्न लागेको विद्यालयका प्राचार्य शरद्चन्द्र रावल बताउँछन् । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले नमुना संयुक्त राष्ट्रसंघ सभाको अभ्यास गर्नेछन् ।
‘संयुक्त राष्ट्र संघको महासभामा उठाइने समस्याहरुको समाधानको निम्ति कसरी छलफल हुन्छ र समस्याहरुको हल कसरी गर्दछन् भन्ने जानकारी नमुना संयुक्त राष्ट्रसंघ सभामा प्रस्तुत हुन्छ । सभाबारे विद्यार्थीलाई सिकाउने काम भइरहेको छ’, प्राचार्य रावल भन्छन्, ‘नमुना संयुक्त राष्ट्रसंघ सभा कार्यक्रममा विद्यार्थीले अनुसन्धान, लेखन कला र वाक्कला सिक्ने भएको उनीहरुको व्यक्तित्व, नेतृत्व क्षमता र विश्वका समस्याबारे वृहत सोचको विकास गर्न मद्दत मिल्नेछ ।’ संयुक्त राष्ट्रसंघको कार्य प्रणालीसँग परिचित हुन, विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्ने अवसर पाउने भएकाले विद्यार्थीको नेतृत्व विकास, कूटनीतिक बहस, लेखन, बौद्धिक विश्लेषणजस्ता क्षमता अभिवृद्धि हुनेछ ।

प्राचार्य रावलका अनुसार नमुना संयुक्त राष्ट्रसंघ सभामा संयुक्त राष्ट्रसंघ साधारणसभा, विभिन्न समिति र उप–समितिका बैठकलगायत संयुक्त राष्ट्रसंघका विभिन्न संरचनामा विद्यार्थीले नेपाल लगायत संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रको प्रतिनिधित्व गर्नेछन् । संयुक्त राष्ट्रसंघको सभामा ती देशका राष्ट्र प्रमुख वा सरकार प्रमुखको रुपमा सहभागी भइ प्रतिनिधिहरुले आफ्नो, अन्तरदेशीय र विश्वका साझा समस्याहरु कसरी उठान गर्ने र समाधानका लागि दस्तावेज तयार गर्नेछन् । सभाबाट दस्तावेजहरु पारित गर्नेछन् । नमुना संयुक्त राष्ट्रसंघ सभामा सहभागी हुने विद्यार्थीले जुन जुन देशको प्रतिनिधित्व गर्नेछन् । ती ती देशको भेषभुषामा बैठकमा सहभागी हुुनेछन् ।

संयुक्त राष्ट्रसंघका विश्वभर १९३ देश सदस्य राष्ट्र छन् । धेरै भन्दा धेरै सदस्य राष्ट्रको सहभागिता हुने गरी सभा र समितिका बैठक आयोजन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ । विद्यालयका कक्षा १२ का विद्यार्थीद्वय ऋषभ खत्री र स्मारिका केसी विद्यार्थीहरुबाट नेतृत्व चयन गरी आयोजक समितिले काम गरिरहेको बताउँछन् ।
नेपालमा सम्भवतः पहिलो पटक काठमाडौंको बुढानीलकण्ठ स्कुलमा नमुना संयुक्त राष्ट्रसंघ सभाको अभ्यास गरिएको थियो । बुढानीलकण्ठका विद्यार्थीले वर्षका एक एक पटक विद्यालय स्तरमा र अन्तरविद्यालय स्तरमा नमुना संयुक्त राष्ट्रसंघ सभा आयोजना गर्ने गरेको सामाजिक विषयका शिक्षक प्रफुल्ल काफ्ले बताउँछन् । बुढानीलकण्ठले गरेको अभ्यासबारे स्प्रिङ डेल एकेडेमीमा अभिमुखीकरण गर्न नेपालगन्ज आएका शिक्षक काफ्लेले विद्यार्थीले विदेशमा पनि नमुना संयुक्त राष्ट्रसंघ सभाको कार्यक्रममा सहभागिता जनाइरहेको बताए । उनले भने, ‘नमुना संयुक्त राष्ट्रसंघ सभा विद्यालयमा गरिने अतिरिक्त क्रियाकलाप हो । पाठ्यक्रममा पढेको भन्दा विद्यार्थीकै सहभागितामा आयोजना गरिने भएकाले उनीहरुले संयुक्त राष्ट्रसंघ, विश्वका देशका समस्या, समाधानका उपायबारे धेरै जानकारी हासिल गर्छन् ।’ शनिबार दिनभर शिक्षक काफ्लेले स्प्रिङ डेलका कक्षा ८ देखि १२ सम्मका झण्डै दुई सय विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । उनले संयुक्त राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघको साधारणसभा, ऐजेण्डा, समिति, विषयगत समिति, संयुक्त राष्ट्रसंघको कार्यशैली, नमुना संयुक्त राष्ट्रसंघ सभाको कार्य विधि र प्रक्रिया, यसबाट विद्यार्थीलाई हुने फाइदाबारे जानकारी गराएका थिए ।