इजरायलमा छन्, कृषि इन्टर्नका २६५नेपाली विद्यार्थी, हमास आक्रमणमा १० नेपालीको मृत्यु

नेपालगन्ज : इजरायलमा कृषि विषयको इन्टर्नमा मात्र २६५ जना विद्यार्थी पुगेका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले संघयि संसदलाई आइतबार दिएको जानकारी अनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । इजरायलमा चार हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् ।
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।
१० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।
मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ ।
गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।