राजापुरमा बेपत्ताका पत्नीलाई जीवननिर्वाह भत्ता

शंकरप्रसाद खनाल । राजापुर
राजापुर नगरपालिका–५ पहाडीपुरकी भजियाकुमारी थारुनीको आम्दानीको कुनै स्रोत छैन । खेती किसानी गरेर कमाउने उनका पति मोतिलाल थारुलाई द्वन्द्वको बेला ४ कार्तिक २०५९ मा माओवादीको झुटो आरोपमा सुरक्षाकर्मीले बेपत्ता बनाए । अहिलेसम्म पतिको सास र लासबारे अत्तोपत्तो छैन । बेपत्ताकी पत्नीको रुपमा राजापुर नगरपालिकाले उनलाई मासिक दुई हजार रुपैयाँ जीवननिर्वाह भत्ता दिन्छ । असोजको पहिलो हप्ता अन्नपूर्णकर्मी उनको घरपुग्दा कान्छी बुहारी घर नजिकैको खोलामा हेल्का (महिलाले प्रयोग गर्ने जाल)ले माछा मारिरहेकी थिइन । उनी तीन वर्षीया नातिनी यभासँग रमाइरहेकी थिइन । भत्ता के गर्नुहुन्छ त भन्ने जिज्ञासामा उनले भनिन्, ‘पैसाले नुन, खुर्सानी, तेल किन्छु । गाउँघरमा कसैसँग पैसा माग्न परेको छैन । खर्च चलेको छ ।’ १३ धुरमा उनको घर छ । बेपत्ताका परिवारलाई सरकारले दिएको रकमबाट उनले १२ धुर जग्गा र सानो घर बनाएकी छन् । उनलाई पति फर्कलान् भन्ने रत्तिभर पनि विश्वास छैन । भन्छिन्, ‘अब कहाँ आउलान् ? मारेर फालिदिएका होलान् ?’

राजापुर–५ बर्काजयपुरकी बाँधी थारुले १७ वटा बाख्रा पालेकी छन् । मिल चलाएर घरखर्चको जोहो गर्ने उनका पति वसन्तु चौधरीलाई ३ कार्तिक २०५९ मा नेपाली सेनाले घरबाटै लगेर बेपत्ता बनायो । दुई छोरा र एक छोरी सानै थिए । बच्चा सानै थिए । उनी गर्भवती थिइन । पतिको खोजीमा धेरै धाइन् । पत्ता लागेन । घरखर्च चलाउन उनले बाख्रापालनलाई साहारा बनाएकी छन् । द्वन्द्व पीडित भनेर राजापुर नगरपालिकाले ५ वटा पाठी दिएको थियो । अहिले त उनको खोरमा १७ बाख्रा छन् । बेपत्ताकी पत्नीका रुपमा नगरपालिकाबाट मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता पनि पाइरहेकी छन् । ‘नेपाल सरकारले भत्ता दिएन । म आफैं दिन्छु भनेर मेयर साबले भन्नुभयो । हामीले पाइरहेका पनि छौं । हाम्रो समस्या बुझेर हाम्रो सरकारले राहात दियो’, उनले राजापुर नगरप्रति कृतज्ञता जनाइन् । ‘घरबाट लगेका थिए । जिउँदै होलान् । फर्कँन्छन् भन्ने आशा मरेको छैन’, उनी पति फर्किनेमा आशावादी बनिन् ।

राजापुर–६ विक्रमपुरकोखोलाको किनारमा हिरा थारुको घुम्ती पसल छ । पति राजकुमार थारुलाई ३ कार्तिक २०५९ मा सेनासहिसुरक्षाकर्मीले घरबाटै लगेर बेपत्ता बनाएपछि उनले १० हजार रुपैयाँमा घुम्ती पसल किनेर जीवन निर्वाहको थालनी गरिन् । राजापुर नगरपालिकाले उनलाई पनि मासिक दुई हजार रुपैयाँको जीवन निर्वाह भत्ता दिने गरेको छ । स्वरोेजगार बनाउन पाँच वटा बाख्रा पनि दिएको छ । त्यसैले उनी स्थानीय सरकारसँग अलि बढी आशा र भरोशा गर्छिन् । ‘टेपरा जाने बाटो देखाइ दे भनेर लगेका थिए । मेरा पनि अहिले पनि सुरक्षाकर्मीलाई कता बाटो देखाउँदैछन्’, उनी स्थानीय सरकारसँग अनुरोध गर्छिन्, ‘हामीलाई भत्ता दिएर राम्रो काम गर्नुभयो । हाम्रा बुढा मरे वा बाँचेका छन् ? खोजतलास गर्न पनि सघाइदिनुस्् न ?’
भजियाकुमारी, बाँधी र हिरा मात्र होइन, राजापुर नगरपालिकाले बेपत्ताका पत्नीलाई मासिक रुपमा दुई हजार रुपैयाँको जीवननिर्वाह भत्ता दिएको छ । १० भदौ २०७९ को कार्यपालिका बैठकबाट पारित भइ जीवन निर्वाह भत्ता वितरण कार्यविधि–२०७९ लागू गरेको छ । ‘स्थानीय सरकारले प्रदान गर्ने विगत द्वन्द्वको क्रममा राज्यबाट र विद्रोही पक्षबाट बेपत्ता परिवारका पत्नीहरुलाई अर्को व्यवस्था नभएका एकल महिलाका लागि जीवन जीवन निर्वाह भत्ता वितरण गर्न व्यवस्थित, प्रभावकारी र पारदर्शी ढङ्गले वितरण गर्न र सो को प्रक्रिया निर्धारण गर्न वाञ्छनीय भएकोले कार्यविधि जारी गरिएको प्रस्तावनामा उल्लेख छ ।
कार्यविधि अनुसार यो भत्ता सबैले पाउँदैनन् । कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति भएको वा मनोनित भइ बहाल रहेको ब्यक्ति, नेपाल सरकार, स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्त भएको संगठित संस्थाबाट नियमित रुपले पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेको व्यक्तिले समेत सुविधा पाएको मानिनेछ र यस्ता व्यक्तिले भत्ता पाउने छैनन् भनेर कार्यविधिले स्पष्ट किटान गरेको छ ।
राजापुर नगरपालिकाबाट बेपत्ता परिवारलाई मासिक जिविकोपार्जन भत्ता पाउनेमा सबैभन्दा बढी वडा नं. ६ का ६ जना छन् । यो वडाबाट शिवा थारु, हिरा थारु, जनकरानी थारु, लक्ष्मी थरुनी, वेली थारु र गर्भी थरुनीले पाएका छन् । त्यसैगरी वडा नंं. १० का ४ जना छन् । देवली थरुनी, गंगाकुमारी थरुनी, लोेटनकुमारी चौधरी र फगनी थारुले पाएका छन् । वडा नंं. ५ बाट दुई जना (बाँधी चौधरी र भजियाकुमारी थरुनी)ले भत्ता पाएका छन् । वडा नंं. २ की रविना चौधरी, वडा नं. ४ की पुनमकुमारी गुप्ता र वडा नं. ९ की कृष्णकुमारी न्यापानेलाई नियमित भत्ता उपलब्ध गराइएको छ । जीवन निर्वाह भत्ता पाउने अधिकांश ४० वर्षभन्दा माथिको उमेर समूहका छन् ।
बेपत्ताका परिवारलाई नेपाल बैंक लिमिटेड, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंंक, ग्लोबल आइएमइ बैंक, माछापुछ्रे र कृृषि विकास बैंक मार्फत रकम भुक्तानी हुने गरेको छ । राजापुर नगरपालिका प्रमुख दीपेश थारु ‘राजेश’ बेपत्ताका परिवारको जीवन निर्वाहमा थोरै मात्र भए पनि राहात होस् भनेर भत्ता दिएको बताउँछन् । ‘संघीयता ल्याउन शहिद तथा बेपत्ता परिवारको योगदान थियो । बेपत्ताका परिवारले कतैबाट राहात पाउनु भएन । उहाँहरुलाई नुन तेल मात्र भए पनि खान पुगोस् भनेर दिन सुरु गरेका छौं’, उनले प्रष्ट पारे, ‘अर्को भरपर्दो व्यवस्था नहुँदासम्म हामी यो भत्ता नियमित रुपमा उपलब्ध गराउँछौं ।’
शहीदका सन्तानले पाए झैं बेपत्ताका परिवारलाई पनि राज्यले छात्रवृत्ति उपलब्ध गराउनु पर्ने पीडितहरुले माग गर्ने गरेको राजापुरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर शाही बताउँछन् । उनको सुझाव छ, ‘हामीले बुझ्दा पनि शहिदका सन्तानले शिक्षामा छात्रवृत्ति पाएका छन् । बेपत्ताका परिवारलाई पनि यो नियम लागू गर्न सकेमा पीडित परिवारलाई राहात हुने थियो ।’
सशस्त्र द्वन्द्वका शहिद, बेपत्ता तथा घाइतेहरुका बारेमा लेखिएको पुस्तक जीवनगाथामा राजापुर क्षेत्रलाई जनयुद्धकालमा मिनी रोेल्पा भनेर चिनिने र बर्दिया जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी हत्या भएको ठाउँ भनिएको छ । जहाँ ६५ शहीद, ३१ बेपत्ता र घाइते तथा अपाङ्गता भएका १० जना रहेको पुस्तकमा उल्लेख छ ।
बर्दियाकै बारबर्दिया नगरपालिकाले पनि अघिल्लो पाँच वर्षे कार्यकालमा बेपत्ताका परिवारलाई जनही दुई हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता दिए पनि नयाँ आएका जनप्रतिनिधिले त्यो रकम वितरणमा रोकेको बेपत्ता योद्धा समाज बर्दियाका अध्यक्ष निरञ्जन चौधरीले गुनासो गरे । ‘एउटा सरकारले गरेको राम्रो अभ्यासलाई अर्को सरकारले निरन्तरता दिनुपर्ने हो । नयाँ जनप्रतिनिधिहरुले रोकिदिनुभयो । पीडितलाई स्थानीय सरकारले मल्हम लगाउने ठाउँमा झन पीडा दिएको छ’, उनले आक्रोस पोखे । उनका बुबा सगुनलाल चौधरीलाई १२ पुस २०५८ मा राज्यपक्षले बेपत्ता बनाएको थियो । बारबर्दिया नगरपालिकाका वर्तमान नगर प्रमुख छविलाल थारु कानुनले जीवननिर्वाह भत्ता दिन नमिल्ने बताउँछन् । ‘उहाँहरुले विधुवा भत्ता जस्तै गरी दिनुस् भन्नु भएको थियो । त्यो कानुनले दिन मिल्दैन’, उनले प्रष्ट पारे, ‘हामीले द्वन्द्व पीडितलाई आयआर्जनमा सघाउन बाख्रापालन, ब्युटीपार्लर, नास्ता पसलका लागि सहयोग गरेका छौं । ८१ जना द्वन्द्व पीडितको एक लाखका दरले निःशुल्क बिमा कार्यक्रम सञ्चालन गरेका छौं ।’ बारबर्दिया नगरपालिकामा सशस्त्र द्वन्द्वका ३६ शहीद, ४५ बेपत्ता र घाइते तथा अपाङ्गता भएका १६ जना रहेको जीवनगाथा पुस्तकमा उल्लेख छ ।