काम नगर प्रहरीको, नगर रक्षक निजी कम्पनीका सुरक्षाकर्मी

नेपालगन्ज : देशैभर स्थानीय तहले नगर प्रहरी भर्ना गरेर काम गरिरहेको बेला नेपालगन्ज उपमहानगरपालिकाले भने निजी सुरक्षा कम्पनीबाट नगर रक्षक भर्ना गरेको छ । नगर रक्षक भनिए पनि उनीहरुले नगर प्रहरीकै हैसियतमा जस्तो काम गर्नेछन् तर सेवा सुविधा भने सरकारी स्केल वा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्त भएका यी रक्षकले बहालवाला सुरक्षाकर्मी बराबर तलब पाउने छैनन्् । नेपालगन्ज उपमहानगरपालिकाको आव्हानमा टेण्डरमार्फत ३० जना नगर रक्षक खटाउने जिम्मेवारी पाएको न्यू बागेश्वरी सरसफाई एण्ड सेक्युरिटी सर्भिसेस प्रालिले तोके बमोजिम मात्र हुनेछ । नेपालगन्ज उपमहानगरमा डा. धवलशम्शेर राणा नगर प्रमुख भएको बेला यसअघि भर्ना भएका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा ११ जना नगर प्रहरी छन् । अब नगर प्रहरी र नगर रक्षक गरी नगरमा ४१ जना सुरक्षाकर्मी भएका छन् ।
भर्ना भएका नगर रक्षकलाई नगर प्रमुख प्रशान्त विष्टले विहीबार तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए । “तपाईंहरु फुटपाथ, ठेला गाडा, निर्माण सामग्रीको व्यवस्थापनसंगै सहरलाई सफा, स्वच्छ र सुन्दर राख्न दत्तचित्त भएर लाग्नुस्, ठूल्ठूला चाडपर्व आउँदैछन्, यो बेलामा सहरमा हुने भिडभाडदेखि लिएर फोहर व्यवस्थापनको कामका बारेमा पनि तपाईंहरुको चासो र अनुगमन हुनुपर्दछ, उनले निर्देशन दिँदै भने, “आन्तरिक राजश्व बृद्धि गर्न पनि यहाँहरुको उल्लेखनीय भूमिका हुन्छ ।” नगर प्रहरी प्रमुख बोगटीले शुक्रबारदेखि नगर रक्षकहरु फिल्डमा खटिने बताए । वडा नम्बर १ देखि २० सम्मका सम्पूर्ण फुटपाथ हटाउने, तोकेको ठाउँमा मात्र ठेला गाडा लगाउन दिने, उपमहानगरपालिकाभित्र मालबहाक सवारी साधनहरुलाई बिहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने, चोक बजारभित्रका ठेला साँझ ५ बजेपछि मात्र लगाउन पाउने र बिहान ९ बजेभित्र खाली गरिसक्नुपर्ने, सडकपेटीमा राखेका घर निर्माणका सामग्री तीन दिनभित्र व्यवस्थापन गर्न लगाउने, ट्रान्सपोर्ट, हार्डवेयर पसलहरुलाई बुग्गीको सम्पर्क नम्बर राख्न लगाउने र आवश्यक परेको समयमा बोलाउने तथा बाटोमा बुग्गी राख्न नदिने, त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तथा गणेशमान चोकदेखि चारबाहिनी रोडसम्म वन–वे कायम गर्ने, गुलरिया बसपार्कमा बस व्यवस्थापन गर्ने लगायतका कार्यहरु कडाईका साथ लागू गर्न नगर प्रमुख विष्टले निर्देशन दिए ।