बर्दियाको बारबर्दियामा सेनेटरी प्याडको गुणस्तरबारे बहस

जयनगर : बर्दियाको बारबर्दिया नगरपालिकामा सेनेटरी प्याडको गुणस्तरबारे व्यापक छलफल भएको छ ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाले कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका)को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाको समीक्षा, समापन तथा सामाजिक परीक्षण कार्यक्रममा यस्तो बहस भएको हो । पत्रकार शंकरप्रसाद खनालले सामाजिक परीक्षणको क्रममा नगरपालिकाले वितरण गर्ने सेनेटरी प्याड कमसल खालको भएकाले विद्यालयका छात्राले एकैदिनमा तीन वटा फेर्नुपर्ने गुनासो गरेको सुनाएका थिए ।

कार्यक्रममा बारबर्दिया नगर प्रमुख छविलाल थारुले सार्वजनिक खरिद ऐनका कारण सस्तो दरको प्याड किन्नुपर्ने बाध्यात्मक परिस्थितिले प्रश्न उठेको बताएका थिए । उनले तत्काल यस्तै खालको प्याड किन्नुको विकल्प नभएको बताएका थिए । नगर उप–प्रमुख रत्नकुमारी पाण्डेले विद्यालयमा अनुगमन गर्न जाँदा सेनेटरी प्याडको गुणस्तरबारे धेरै गुनासो सुनेको बताइन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले दुई आर्थिक वर्षमा सेनेटरी प्याड खरिदको अनुभव सुनाउँदै चाहेर पनि गुणस्तरीय प्याड दिन नसक्ने बताएका थिए । उनले गत आर्थिक वर्षमा ४८ लाख रुपैयाँको टेण्डर आव्हान ११ लाख रुपैयाँमा टेण्डर परेको अनुभव सुनाएका थिए । ‘सार्वजनिक खरिद ऐनले गुणस्तरीय प्याड खरिद गर्न सकिन्न । प्याडबाट धेरै झमेला झेलेका छौं’, उनले भने, ‘टेण्डरमा आएका प्याड लिएर म काठमाडौं गएको थिए । ११ लाख र २२ लाख रुपैयाँमा टेण्डर हाल्ने दुबै कम्पनीलाई गुणस्तर विभागले गुणस्तरीय बताएको थियो । ११ लाख रुपैयाँवालाको कागजातमा गडबड भएकाले २२ लाख रुपैयाँ वालालाई टेण्डर पारेका थियौं ।’
कार्यक्रममा गेरुवा ग्रामीण जागरण संघका कार्यकारी निर्देशक हरि सुवेदीले घरमै बनाएको सेनेटरी प्याड विकल्प हुनसक्ने सुझाव दिएका थिए । उनले भने, ‘हामीले प्याड बनाउने तालिम दिएका थियौं । आवश्यक पर्छ भने फेरि पनि दिनसक्छौैं ।’

कार्यक्रममा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाका संयोजक सुरज अर्यालले बारबर्दियामा सञ्चालित तीन वर्षे परियोजना समापन भएको जानकारी दिएका थिए । उनले तीन वर्षको अवधिमा परियोजनाले पहिलो वर्ष तीन माध्यमिक विद्यालय र दुई स्वास्थ्य संस्था, दोस्रो वर्ष चार मावि र दुई स्वास्थ्य संस्था र तेस्रो वर्षमा ६ मावि र चार वटा स्वास्थ्य संस्थामा काम गरेको जानकारी गराएका थिए । उनले विद्यालयमा ९ वटा अपाङमैैत्री तथा लैङ्गिमैत्री शौचालय, १३ वटा महिनावारी आराम कक्ष, १३ वटा नै किशोरकिशोरीमैत्री सूचनाकक्ष, अपाङ्गमैत्री हेन्डवासिगं स्टेशन निर्माण र २ वटा शौचालयको मर्मत गरिएको बताए ।

गेरुवा ग्रामीण जागरण संघका सचिव हरिप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारबर्दिया ७ का वडाध्यक्ष इन्द्र चौधरी, भानुभक्त मावि सिउनीयाका प्रधानाध्याक करबहादुर बस्नेत, अंशुवर्मा माविका प्रअ पोमराज शर्मा, शिक्षक कुमारप्रसाद सापकोटालगायतले विद्यालय क्षेत्रमा वास सुधारका बारेमा धारणा राखेका थिए ।

सोही अवसरमा बारबर्दिया नगरपालिकामा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाको सामाजिक परीक्षण पनि गरिएको थियो । पत्रकार शंकरप्रसाद खनालले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै परियोजनाले निर्माण गरेका पूर्वाधार र कार्यक्रमको दीगोपनका लागि सुझाव दिएका थिए ।