ठाकुरबाबामा कानुन बनाएर गुणस्तरीय सेनेटरी प्याड खरिद

सैनवार : स्थानीय तहले खरिद गरेका सेनेटरी प्याडहरु गुणस्तरहीन भएको गुनासो आइरहेको बेला बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्थानीय कानुन बनाएर गुणस्तरीय प्याड खरिद गरेर वितरण गरेको छ ।
गेरुवा ग्रामीण जागरण संघ बर्दियाले कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी ९कोइका०को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाको सामाजिक परीक्षणका क्रममा सोमबार नगरपालिकामै आयोजित कार्यक्रममा नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमुख विनाकुमारी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले सेनेटरी प्याड कमसल भएको गुनासो आएपछि सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ ले प्याडको मापदण्ड बनाएर गुणस्तरीय प्याड खरिद गरेको जानकारी दिएका हुन् ।
उपप्रमुख भट्टराईले कार्यक्रममा भनेकी थिइन्, की थिइन्, ‘विद्यालयमा अनुगमनका क्रममा हामीले सेनेटरी प्याडको गुणस्तर कमसल भएको निकै गुनासो सुन्यौं । त्यसैले मापदण्ड बनाएर प्याड किनेका हौं । अब त्यस्तो समस्या कतै सुनिएको छैन ।’
प्रमुख प्रशासकीय अधिकृत रिजालका अनुसार मापदण्डमा प्याडको आकार, प्रकार र बनावट, कच्चा पदार्थको प्रयोग, अवशोषण, डिस्पोजेबिलिटी, सेतो रंगको र लगभग गन्धहीन हुनुपर्ने, स्वच्छता परीक्षण,
निर्माताले उत्पादनमा प्रयोग गरिएका सबै सामग्रीहरू मानव प्रयोगको लागि सुरक्षित छन् भनेर ग्यारेन्टी गरिएको हुनुपर्ने, एउटा प्याकेटमा कम्तीमा ८ वटा प्याड हुनुपर्ने लगायतको रहेको छ ।
पालिकाले हरेक विद्यालयमा विद्यार्थी संख्याको आधारमा जनही दुई दुई पोकाका दरले सेनेटरी प्याड वितरण गरिरहेको छ । किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजनाले विद्यालयमा निर्माण गरेका महिनावारी आरामकक्षमा पनि अनिवार्य रुपमा सेनेटरी प्याड राख्ने व्यवस्था गरेको छ । परियोजना संयोजक सुरज अर्याल ठाकुरबाबाको सामुदायिक विद्यालयको महिनावारी आरामकक्षबाट प्याड प्रयोग गर्ने छात्राहरुले प्याडको गुणस्तर राम्रो भएको प्रतिक्रिया दिएको बताउँछन् । ‘पहिलो वर्ष हामीले तीन वटा माध्यमिक विद्यालयलाई भेन्डिङ मेसिन दिएका थियौं । सेनेटरी प्याडको आकार नमिलेर दोस्रो र तेस्रो वर्षमा भेन्डिङ मेसिन दिन छोड्यौं । त्यतिबेला सेनेटरी प्याड पनि गुुणस्तरको नभएको ब्यापक गुनासो आएको थियो’, उनले भने, ‘तीन वर्षको अवधिमा हामीले नगरका नौ वटा विद्यालयमा महिनावारी आरामकक्ष बनाएका छौं । त्यहाँ अनिवार्य रुपमा प्याड राखिएको हुन्छ । दुई वर्ष यता कसैले पनि प्याडको गुणस्तरबारे गुनासो गरेका छैनन् ।’
परियोजनाले ठाकुरबाबामा महिनावारी आरामकक्षका साथै पाँच वटा माविमा लैङ्गिक तथा अपाङमैत्री शौचालय, दुई वटा विद्यालयमा अपाङ्गमैत्री हेन्डवासिङ स्टेशन, ९ वटा विद्यालयमा किशोरकिशोरीमैत्री सूचनाकक्ष, ९ वटा विद्यालययका किशोरीहरूलाई महिनावारी स्वच्छता व्यवस्थापन र पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको तालिम दिएको संयोजक अर्यालले जानकारी दिए ।

तीन वर्षे परियोजना समापन पनि भएको छ । परियोजनाका कारण ठाकुरबाबा नगरमा स्थानीय सरकारले नीति तथा कार्यक्रम अनुरुप समुदायमा परिचालन गर्दा अभियान सफल भएकोे, परियोजनाहरु स्थानीय आवश्यकतामा आधारित भएकाले अपनत्व र जवाफदेहिता बढेको, किशोरकिशोरीहरुमा यौन तथा प्रजनन् स्वास्थ्यबारे चेतना बढेको र यस विषयमा हौसला बढेको, किशोरकिशोरीमैत्री सूचनाकक्षले शिक्षण सिकाइ प्रभावकारी बनेको सामाजिक परीक्षणका क्रममा जानकारी गराइएको थियो । गेरुवा ग्रामीण जागरण संघकै पहलमा ठाकुरबाबालाई देशकै पहिलो पूर्ण हात धुने स्थानीय तह पनि घोषणा गरिएको थियो ।