भारतीय दूतावासद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई खेलकुद सामग्री सहयोग

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । फोटो सौजन्य : भारतीय राजदूतावास काठमाडौं

नेपालगन्ज : भारतीय राजदूतावास काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद सामग्री सहयोग गरेको छ ।
राजदूतावासले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा सरिन स्र्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामग्री हस्तान्तरण गरेका हुन् । ती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो ।
राजदूत श्रीवास्तवले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिएका थिए । भारतीय दूतावास, काठमाडौंले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराउनुका साथै बी.पी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको दूतावासका प्रेस हेर्ने प्रथम सचिव डा. साहिल कुमारले जनाएका छन् ।