मुख्यमन्त्री कोहलपुर गोल्डकपमा दर्शक क्रेज (फोटो फिचरसहित)

कोहलपुर : ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप’ फुटबल प्रतियोगिताको दोस्रो दिनमै दर्शकको क्रेज देखियो ।
कोहलपुर नगरपालिका—२ तेह विगाहमा बिहीबार भएको गोर्खा व्वाइज स्पोर्ट क्लब बुटवल र सुदूरपश्चिम—११ धनगढीबीचको खेल हेर्न खेल मैदानको प्याराफिटमा झन्डै एक तिहाइ दर्शक आए । भीआइपी प्याराफिटको ४०० र सर्वसाधारणको दुई हजार ६ सय गरी कूल तीन हजार क्षमताको प्याराफिटमध्ये झन्डै एक तिहाइ दर्शक आए ।

आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार बिहीबार आठ सय ५१ जनाले त टिकट काटेर नै फुटबल हेरेका छन् । पत्रकार, सुरक्षाकर्मी, आयोजक र पास लिएर खेल मैदानमा प्रवेश गरेका ब्यक्ति जोड्दा झन्डै एक हजार दर्शक भएको अनुमान गर्न सकिन्थ्यो । जुन कूल क्षमताको ३३ प्रतिशत सहभागिता हो ।

बिहीबारको खेलमा गोर्खा व्वाइज स्पोर्ट क्लब बुटवल विजयी भएकोे थियो । गोर्खा व्वाइजले सुदूरपश्चिम—११ धनगढीलाई १—० ले पराजित गरेको थियो । गोर्खाको जितका लागि जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले ४५ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । प्रतियोगिताको सुरुदेखि अन्त्यसम्म गोर्खाले सुदूरपश्चिमलाई निकै दवाबमा राखेको थियो । उसले धेरै पटक गोल गर्ने अवसर गुमाएको थियो । प्रतियोगितामा गोर्खाका जर्सी नम्बर १४ का सहदेव केसीले म्यान अफ द म्याचको रुपमा पुरस्कृत गरिएको खेल संयोजक रामबहादुर मल्ले जानकारी दिए । शुक्रबार पहिलो सेमिफाइनलका लागि पहिलो खेल विजेता चर्च व्वाईज यूनाइटेड र दोस्रो खेल विजेता गोर्खा व्वाइजबीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।