भूकम्प पीडित गर्भवती र सुत्केरीलाई सास्ती

शंकरप्रसाद खनालनलगाड (जाजरकोट)
ललीतबहादुर बुढाआठवीसकोट (रुकुम पश्चिम)
जाजरकोटको नलगाड नगरपालिका–६ की १९ वर्षीया जमुना बुढा मगर भूकम्पमा घाइते भइन्। उनलाई उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहान नेपालगन्जको भेरी अस्पताल पुर्‍याइयो। पेटमा ३० साताको गर्भ थियो। अस्पतालमा उनले मृत बच्चालाई जन्म दिइन्। पेटमा हुर्किरहेको पहिलो सन्तान गुमाएको पीडा त छँदै थियोे, अस्पतालको शय्यामा होसमा आउँदा उनले भूकम्पमा पति नवीन बुढा मगरको निधनको दुःखद खबर सुन्नुपर्‍यो। उनीहरूको गत फागुनमा मात्र प्रेम विवाह भएको थियो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरकी ३४ वर्षीया बिना केसीको सुत्केरी हुने मिति नजिकिँदै छ। डाक्टरले मंसिरमा डेट दिएको छ। यो समयमा उनको घरमै आराम र अलि बढी स्याहारसुसार पाउनुपर्ने हो। भूकम्पले उनको घरै भत्काएको छ। बारीका पाटामा बास भएको छ। अझ त्यत्ति मात्र कहाँ हो र रु राहतका नाममा ओत लाग्ने त्रिपाल पनि उनले पाएकी छैनन् तर जुक्ति लगाइन्। तरकारी लगाउने टनेललाई नै टहरो बनाएर उनी बसेकी छन्।
‘पेटमा बच्चा धेरै चल्न थालेको छ। जाँच गर्न पनि कहाँ जाने भनेर केही बुझ्न सकेकी छैन’, उनले समस्या दर्शाइन्। सोही टोलकी मनिला केसीको झन्डै एक वर्षको छोरो छ। उनको घर भत्किएर पालमा बसेकी छन्। ‘बिहान उठ्दा शीतले कपडा भिजेको हुन्छ। चिसोले बच्चालाई खोकी लागिरहन्छ। शरीर सुन्निन्छ’, उनले दुःखेसो पोखिन्।


गत शुक्रबार मध्यराति ११ः४७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जिल्लामा सबैभन्दा धेरै मार कसैलाई परेको छ भने त्यो गर्भवती र सुत्केरीलाई नै हो। गर्भावस्था र सुत्केरी अवस्थामा बढी न्यानो भएर पोषिला खानेकुरा खानुपर्ने महिला बारीका पाटाको बास र भूकम्पपीडितको गुजारा गरेर खाने कुरामा सीमित भएका छन्।
जाजरकोटको नलगाड–१ चिउरीकी अमृता कुमाइका ससुराको भूकम्पमा घर भत्केर निधन भयो। उनको कोखमा सात महिनाकी छोेरी छ। त्रिपालमा जुठो बारेर बस्नु परेको छ। ‘बच्चालाई निमोनिया हुन्छ कि भनेर डर लाग्छ’, उनी भन्छिन्, ‘झरी परे झैं निथ्रुक्क भिज्नुपर्छ। ओढ्ने ओछ्याउने पनि भिज्छन्। दिउँसो घाम लाग्दा सुकायो। राति फेरि सुत्यो।’ सोही ठाउँकी २४ वर्षीया सुत्केरी सुमिना कुमाई, २१ वर्षकी स्मृति घेलाल, २१ वर्षकै निर्मला चुनारा, २४ वर्षीया समीक्षा महराका पनि सन्तान एक वर्षमुनिकै छन्।

समस्या पनि उस्तै छ, ‘त्रिपालमा बच्चा काखी च्यापेर सुत्ने’, उनीहरू सबैले बारीका पाटाको बास र भूकम्पपीडितको गुजाराको गाँस नै आफ्नो खान्की भएको बताएका थिए। कुनै पनि गर्भवती र सुत्केरी महिलाले पोषिलो खानेकुरा खान पाएको बताएनन्। न त कसैले पोषिलो खानेकुरासम्बन्धी राहत नै वितरण गरेको बताए। चिउरीमा दलित महिला संघ (फेडो) केन्द्रीय समिति ललितपुर र जिल्ला शाखा सुर्खेतले दलित समुदायका गर्भवती, सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक महिलाका लागि न्यानो कपडा राहत बाँडेको थियो।

बच्चाको लुगा, टोपी, सुत्केरी महिलालाई कपडा, सेनेटरी प्याड, जेष्ठ नागरिक महिलालाई सानो ठूलो कम्मललगायतका सामग्री वितरण गरेको फेडोका केन्द्रीय सचिव खगिसरा ओलीले जानकारी दिइन् । राहात वितरण गर्दा भूकम्प पीडितको निकै ठूलो भीड लागेको थियो ।