बागेश्वरी मन्दिरमा तेस्रो महादिपोत्सव भव्य सम्पन्न

पूजाकुमारी वैश्य । नेपालगन्ज
नेपालगन्जको बागेश्वरी मन्दिरमा तेस्रो महादिपोत्सव भव्य रुपमा मनाइएको छ । जय सियाराम युवा क्लबले शुक्रबार साँझ बागेश्वरी मन्दिरमा ११ हजार एक सय २१ द्वीप प्रज्ज्वलन गरेको हो ।
मन्दिरलाई झिलिमिली र फूलहरूले दुलही जसरी सजाइएको थियो । मन्दिरमा उपस्थित सम्पूर्ण भक्तहरुले दीप प्रज्ज्वलन गरी मन्दिरलाई दियोको प्रकाशले जगमगाएका थिए । चारैतर्फ छरिएको त्यो दियोको प्रकाश मनमोहक र लोभलाग्दो थियो । सनातन हिन्दु धर्मका देवता रामले वनवासको अवधि समाप्त गरेर अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने प्रचलन अनुरुप यो तेस्रो पटक तिहारको धनवन्तरी जयन्ती (धन्तेरस) दिन महाद्वीप प्रज्ज्वलन गरिन्छ ।
दीपावलीको अवसर पारेर बिहीबार नेपालगन्जमा श्रीराम भगवानको भब्य शोभायात्रा श्री राजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगरदेखि प्रारम्भ गरी बजार क्षेत्र भरी परिक्रमा गर्दै बागेश्वरी मन्दिर पुगेर सम्पन्न गरिएको थियो ।