तिहार सुरु : कुन दिन, कसको पूजा किन ?

अन्जना धिताल । नेपालगन्ज
हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड तिहार शनिबारबाट सुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक, दीपावली र दिवाली पनि भनिन्छ । तिहारको पहिलो दिन कागको पूजा गर्ने गरिन्छ ।
शनिबार कागको पूजा गरेर तिहारको शुभारम्भ भएको छ । यद्यपि धनतरेशकै दिनदेखि तिहार सुरु भएको मानिन्छ ।
काग तिहार आफ्ना परिवारका मृतक पृतिलाई सम्झेर कागलाई बोलाएर मिठो मिठो खाने कुराहरु खुवाइने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने विश्वासले कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ । त्यसैले कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर कागको पूूजा गरेर मीठो–मीठो खान दिएर खुसी पार्ने गरिन्छ ।
तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मिठा परिकार खान दिएर पूजा गरिन्छ । कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरे बापत कुकुरको पूजा गरिँदै आएको हो ।
तिहारको तेस्रो तथा महत्त्वपूर्ण दिन लक्ष्मीपूजा हो  । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाए बापत बिहान गाईको र साँझ सबैले आआफ्ना घरमा रगंले सजाएर रंगोली बनाएर दिया बत्तिहरु बालेर धनकी देवी लक्ष्मीको पूजा गरिन्छ ।
तिहारको चौथो दिन गोरु एवं गोवर्द्धन पूजा हो । कृषि व्यवसायमा गोरुले दिएको योगदानको कदर गरेर किसानले गोरु सँगसँगै जोत्ने खन्ने कुटो कोदालो हलो जुवा आदि सामग्रीहरुको पनि पूजा गर्ने गर्दछन् ।
तिहारको पाचौँ अथवा अन्तिम दिन भाइटीका हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाइटीकाको उत्तम साइत कार्तिक २९ गते बुधबार बिहान १०ः५१ रहेको छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका तथा मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ । यो दिन दिदीबहिनीले दाजुभाइलाई मेवा मिष्ठान मनपर्ने खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई दानदक्षिणा तथा वस्त्र दिने परम्परा छ