लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता : पाण्डे र रावलले जिते तीन-तीन मेडल

नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्ज रंगशालामा आयोजना गरेको पौडी प्रतियोेगितामा तीन तीन वटा मेडल जित्ने दाङका सुवेश पाण्डे र बाँकेका अमित रावल

नेपालगन्ज : लुम्बिनी प्रदेश स्तरीय ‘प्रथम नेपालगन्ज पौडी प्रतियोगिता’मा दुई खेलाडीले तीन तीन मेडल जितेका छन् ।

नेपालगन्ज स्विमिङ क्लबले शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा दाङका सुवेश पाण्डे र बाँकेका अमित रावलले तीन तीन मेडल जितेका हुन् । पाण्डेले पुरुष १५ वर्ष उमेर समूहको ५० मिटर फ्रि स्टाइल र पुरुष ५० मिटर खुल्ला फ्रिस्टाइलमा स्वर्ण पदक र पुरुष ५० मिटर बटरफ्लाइमा रजत पदक ल्याए । प्रतियोगितामा दुई स्वर्ण पदक जित्ने पाण्डे एक्ला खेलाडी हुन् ।
त्यसैगरी रावलले पुरुष ५० मिटर बटरफ्लाइमा स्वर्ण, पुरुष १५ वर्ष उमेर समूह ५० मिटर फ्रि स्टाइलमा रजत र पुरुष ५० मिटर खुल्ला फ्रिस्टाइलमा काँस्य पदक जितेका हुन् । त्यसैगरी नेपालगन्जको राँझास्थित नेपाली सेनाको बज्रदल गणका भुवन बोटेले पनि दुई मेडेल जिते । उनले पुरुष खुल्ला ५० मिटर फ्रिस्टाइलमा रजत र पुरुष ५० मिटर बटरफ्लाइमा काँस्य पदक जितेका छन् ।

महिला ५० मिटर खुल्ला फ्रिस्टाइलमा सुप्रिया रावलले स्वर्ण, डा. महिमा शाहले रजत र जमुना डाँगीले कास्य पदक जितेका छन् । सोही प्रकारले १५ वर्ष मुनिका बालिकाको ५० मिटर फ्रिस्टाइलमा जमुना डाँगीले स्वर्ण, संस्कृति अधिकारीले रजत र कश्वी गुरुङले कास्य पदक जिते ।

यस्तै १४ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा अनमोल केसीले स्वर्ण, श्यामुल सुनारले रजत र उज्वल क्षेत्रीले काँस्य पदक प्राप्त गरे । सोही प्रकारले १२ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा इभान्सु भट्टराईले स्वर्ण, प्रज्वल रानाले रजत र सिजन थापाले काँस्य पदक जिते ।
१२ वर्षमुनिका बालिकको ५० मिटर फ्रिस्टाइलमा सारिकाले स्वर्ण र आरोशी डिसीले रजत पदक प्राप्त गरे भने सोही प्रकारले १० वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा सुशान्त बोहोराले स्वर्ण, वसन्त थारुले रजत र मनन् शर्माले काँस्य पदक जितेका छन् । यस्तै १० वर्षमुनिका बालिकाको २५ मिटर फ्रिस्टाइलमा सम्बृद्धि न्यौपानेले स्वर्ण र प्रिसेस जिसीले रजत पदक जित्ने ।

सोही प्रकारले ८ वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा संस्कार न्यौपानेले स्वर्ण, सुमित वाग्लेले रजत र रिजन बोहोराले काँस्य पदक जिते ।
पदक विजेता खेलाडीहरुलाई नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्ट, नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्ट, नेपाली सेनाका बज्रदल गणका गणपति रविन श्रेष्ठ, बाँके प्रहरी प्रमुख सुवास चन्द्र बोहोरा, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य नरेन्द्र थापा, नेपालगन्ज–१८ का वडाध्यक्ष दीपक बोहोरा, नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

८ वर्षदेखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका फ्रिस्टाइल र बटरफ्लाइ विधाका ९ वटा प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही, गुल्मी र नवलपरासीका ५२ जना खेलाडीले स्पर्धा गरेका थिए । मेडल जित्ने अधिकांश बाँकेका छन् ।

तीन जनालाई सम्मान
नेपालगन्ज स्वीमिङ क्लबले खेल क्षेत्रमा योगदान दिने तीन जनालाई सम्मान गरेको छ ।
क्लबले अफिसियलद्वय चाहाना शाह र विष्णु खड्काका साथै पौडी प्रशिक्षक दीपक परियारलाई सम्मान गरेको हो । चीनमा हालै सम्पन्न १९औं संस्करणको एशियाली खेलकुदमा ट्रायथलनमा चाहाना निर्णायक मण्डलमा थिइन् । उनले भारतीय टिमबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । खड्का पौडीका विश्वस्तरीय अफिसियल हुन् । परियार भने पौडीका प्रशिक्षक हुन् । उनले नेपालगन्जको होटल सिद्धार्थ भ्यूमा लामो समयदेखि विद्यार्थी, बालबालिका र पौडी सिक्न चाहनेहरुलाई पौडी प्रशिक्षण दिइरहेका छन् ।