कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनमा मनाइँदै

 

अन्जना धिताल । नेपालगन्ज

यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइने गरिन्छ तर यो वर्ष कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार तिथि घटबढका कारण वर्ष कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन भएको हो ।
कुकुरलाई टीका र माला लगाइदिएपछि मिठा परिकार खान दिएर पूजा गरिन्छ । कुकुरलाई घरको रखवाला एवं इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरे बापत कुकुरको पूजा गरिँदै आएको हो । यस दिन कुकुरलाई खाना नदिइ खाना खाने मानिसले यमराजबाट दण्ड सजाय पाउँछ भन्ने जनविश्वास पनि छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । घर आँगन गोबरले लिपेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । त्यो बाटोमा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङ सफाइ गरेर दियो बालेर लक्ष्मी मातालाई स्वागत गरिन्छ ।
पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी घरमुलीले टीका लगाएर दक्षिणा दिने प्रचलन छ । विवाहित ,अविवाहित छोरी चेलीहरु जम्मा भइ भैली खेल्ने रमाइलो गर्ने गरिन्छ ।