छठका लागि दुलही जस्तै सिँगारियो बागेश्वरी मन्दिर

छठका लागि सिँगारिएको बागेश्वरी मन्दिर परिसर । फोटो : सञ्जय वर्मा/नेपालगन्ज ग्यालरी

अन्जना धितालनेपालगन्ज
मधेसी समुदायका हिन्दू धर्मालम्बीहरुको मुख्य पर्व छठ मनाउन नेपालगन्जको बागेश्वरी मन्दिरमा व्यापक तयारी गरिएको छ । नेपालगन्जवासी पूजाकुमारी वैश्यका अनुसार खास गरी छठ पर्व भोजपुरी, मैथिली र अवधि भाषी हिन्दूको मुख्य पर्व नै हो । छठका लागि बागेश्वरीको तलाउ परिसर बिजुली बत्तीले बेहुलीझैँ सिङ्गारिएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइन्छ ।
शुक्रबार कात्तिक शुक्लचतुर्थीकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट सुरु भएको हो छठपर्वको दोस्रो दिन शनिबार  ब्रतालुले स्नान गरी भोजन गरी ‘नहाय खाय’ सम्पन्न गरेका छन् ।
छठ पर्वको तेस्रो दिन मुख्य दिन हो । आइतबारका दिन सम्पूर्ण ब्रतालुहरुले निराहार व्रत बसेर साँझपख सिङ्गारिएका जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अर्घ दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘साँझियाघाट’ भनिन्छ । चौथो दिन सोमबार त्यहि प्रसाद सामग्रीको डाली बिहानै उदाउँदा सूर्यलाई अर्घ दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने वैश्य बताउँछिन् ।

File photo