कलाकार खगेन्द्र नेपाल सातौं फिल्म ‘रेड अन’मा मुख्य खलनायकको भूमिकामा

नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरका लोकप्रिय कलाकार खगेन्द्र नेपालले नेपाली फिल्ममा मुख्य खलनायकको रुपमा अभिनय गरेका छन् ।
ट्राफिक सचेतना जगाउने फिल्म ‘रेड अन’मा मन्त्री पुत्रको रुपमा नेपालले खलनायक बनेर दमदार अभिनय गरेका हुन् । नेपालले यसअघि थारु भाषाका ५ वटा फिल्म (कमैंया, डगर, भुइँचाल, तागत र गोतीयार) र नेपाली फिल्म लक्ष्मीरानीमा अभिनय गरिसकेका छन् । ‘रेड अन’ उनको सातौं फिल्म हो । उनी नाट्यकर्मी पनि हुन् । कर्णाली प्रदेशमा लोकप्रिय हुड्के नाच संरक्षणका अभियन्ताका रुपमा पनि उनको पहिचान छ ।
ठूलो पर्दाका फिल्ममा अभिनय क्षमता प्रदर्शन गरिसकेका कलाकार नेपालले थुप्रै सर्ट मुभी र म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । उनी नेपाली लोक गीतको म्युजिक भिडियोमा नृत्य, अभिनय र निर्देशन पनि गर्छन् । ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको उनले खेलेको पछिल्लो फिल्म रेड अन’को भर्खरै टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके ‘आयुष बिसी’ निर्देशित फिल्मको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सवारी चालक अनुमति पत्र बिना सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई फिल्ममा देखाइएको छ ।
फिल्ममा नेपालगँगै नायक किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द्र यादवको अभिनय रहेको छ । विकास चौधरीको संगीत, खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको फिल्ममा सम्राट थापाको पाश्र्व संगीत, राज गौतमको सहायक निर्देशन, सुजन विश्वकर्माको छायाङ्कन छ । आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन् । फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।