असल छिमेकीद्वारा दाङमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

नेपालगन्ज : असल छिमेकी सामुदायिक हस्पिटलद्वारा सञचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिक नेपालगन्जले दाङका विभिन्न स्थानमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पोलिक्लिनिक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थितमा रहेको छ ।

दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धी रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ ।

गौरीया नाकामा विभिन्न रोगका ८० जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको र बिरामीहरुको निःशुल्क रुपमै प्रेसर सुगर जाँच गरी आवश्यक औषधि पनि निःशुल्क नै वितरण गरेको अस्पतालले जनाएको छ त्यसैगरी सोमबार गङदी खोला गाउँमा सञचालन गरेको शिविरमा १२० जना बिरामीलाई निःशुल्क रुपमा सुगर प्रेसर जाँच लगायतका स्वास्थ्य चेकजाँच गरी आवश्यक औषधि निःशुल्क रुपमै वितरण गरिएको अस्पतालले जनाएको छ ।

निःशुल्क रुपमै स्वास्थ्य जाँच र औषधि पाएपछि स्थानीय खुसी भएका थिए । विकट ठाउँमा पनि अस्पतालका डाक्टरसहितको टोली आएर औषधि उपचार गरिदिएको भन्दै डाक्टर र अस्पताललाई स्थानीयले धन्यवाद दिएका थिए । नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.प्रकाश बसेलको नेतृत्वमा रहेको चिकित्सकको टोलीले बिरामीलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले बाँके जिल्ला लगायत विभिन्न जिल्लामा पुगेर गबि निमुखा तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नेपाली नागरिकको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क रुपमै औषधि वितरण गर्दै आएको जनाएको छ । राजपुरको ६ नम्बर वडाको गौरीया नाकासम्म पुग्नका लागि गङ्दीबाट ८ घण्टाको पैदल यात्रा गरेर भरीयामार्फत औषधि बोकाएर चिकित्सकको टोली अस्पतालले त्यहाँ पुराएको थियो । गरिब तथा निमुखा नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सञचालन गरिएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम विभिन्न जिल्लामा निरन्तर रुपमा जारी रहने अस्पतालले जनाएको छ ।