तुलसीको विवाह गरेर हरिबोधिनी एकादशी पर्व मनाइयो*


अन्जना धिताल ।  नेपालगन्ज 

हिन्दु धर्मावलम्बीहरुले तुलसीको विवाह गरेर हरिबोधिनी एकादशी पर्व मनाएका छन् ।
कार्तिक शुक्ल एकादशीमा दिन बिहीबार बिहानै नुहाइधुवाइ गरी अनि चोखो भएर व्रत बसेर घरको आँगनमा मठमा रोपिएको तुलसीलाई सिँगारेर तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी हरिबोधिनि पर्व मनाएका हुन । असारको ठूली एकादशीमा प्रत्येक हिन्दुधर्मावलम्बीले आआफ्ना घरमा रहेको मठमा तुलसीको बिरुवा रोप्ने र कार्तिकको ठूली एकादशीका दिन उक्त तुलसीको विधिवत विवाह सम्पन्न गरिदिने चलन पनि छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नु भएका विष्णु कार्तिक शुक्ल एकादशीका दिन ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी एकादशी भनिएको हिन्दु धार्मिक ग्रन्थहरूमा उल्लेख छ । हरिबोधिनी एकादशीलाई एक वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो एकादशीका रुपमा मानिन्छ । एकादशीका ब्रतालुले चामलका परिकार खाँदैनन् । * सच्चाइएको