नेपालगन्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने खेलाडीलाई लण्डन म्याराथनको अवसर

नेपालगन्ज : नेपालगन्ज म्याराथनको ९औं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन अवसर पाउने भएका छन् ।
आयोजक क्रियटिभ ह्याण्डस्ले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टीएस ठकुरीले यस वर्ष म्याराथनमा पुरस्कार राशी वृद्धि गरिनुका साथै रेकर्ड ब्रेक गर्ने एक खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन पाउने बताए । उनले भने, ‘म्याराथन, नेपाल र युकेबीच नेपालगन्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने एकजना खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराउने विषयमा हिजो मात्र समझदारी भएको हो । यो खुुसीको कुरा हो ।’ लण्डन म्याराथन संसारकै ६ उत्कृष्ट म्याराथनमध्ये एक हो ।
आगामी शनिबार मंसिर ९ गते हुने नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन मेघा बहसका रुपमा नेपालगन्ज कनक्लेभ शुक्रबार हुँदैछ । जहाँ ६ वटा विषयमा छलफल हुनेछ । अर्थतन्त्र, साहित्य, खेलकुद् र महिला सशक्तीकरणबारे विचार मन्थन गर्ने गरी नेपालगन्ज कनक्लेभ आयोजना गरिदै छ । म्याराथनको अघिल्लो दिन नेपालगन्ज म्याराथनलाई एउटा उत्सवका रुपमा अघि बढाउन यसै वर्षदेखि म्याराथनसँगै नेपालगन्ज कन्क्लेभसमेत आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष ठकुरीले बताए ।
नेपालगन्ज साहित्य उत्सवको निरन्तरताको रुपमा अघि बढाउन लागिएको कनक्लेभका निर्देशक जनक नेपालले बताए । नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टर साझेदार रहेको कनक्लेभमा पश्चिम नेपालः उद्यमशीलता, पर्यटन र रोजगारी, खेलकुदसँग टुटेको कडीः शिक्षा, स्वास्थ्य र खेलकुद, आकाश धर्ती बराबरीः महिला सशक्तीकरण, नेपाली आख्यानः के पढ्ने ? के लेख्ने ?, युवा उद्यमशिलता सम्बन्धी स्वदेशमै सम्भव छः युवा उद्यम र रोजगार, अभिनेता राजेश हमालसँग समाज, सिनेमा र साहित्यबारे संवाद जस्ता उद्यमशीलता, खेलकुद्, महिला सशक्तीकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र राखिएको नेपालले जानकारी दिए ।