दोस्रो पटक पार्किले जिते नेपालगन्ज म्याराथनको उपाधि

हाफ म्याराथनमा सन्तोषीको ह्याट्रिक

अन्जना धिताल ।  नेपालगन्ज

धारा नवौँ नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । नेपालगञ्ज म्याराथनमा उनको यो दोस्रो उपाधि हो । यसअघि उनले छैठौं संस्करणको उपाधि जितेका थिए ।

नेपाल आर्मीका खडकबहादुर खड्कालाई उछिनेर पार्कीले उपाधि हात पार्न सफल भएका हुन् । एपीएफका किरणसिंह बोगटी तेस्रो भए । २०७८ को संस्करणमा किरण च्याम्पियन भएका थिए । उनी गत दक्षिण एसियाली खेलकुद (साग) मा ४२ किलोमिटर म्याराथनतर्फ नेपाललाई स्वर्ण दिलाएका खेलाडी हुन् ।

प्रथम भएका पार्कीले दुई लाख रुपैयाँ पुरस्कार जिते । उपविजेता खड्काले एक लाख र तेस्रो भएका बोगटीले ५० हजार रुपैयाँ  जितेका  हुन् ।

हाफ म्याराथनको तर्फको उपाधि फेरि पनि सन्तोषी श्रेष्ठले जितिन् । ह्याट्रिक जितसँगै उनले ७५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । यसअघि हाफ म्याराथनमा उनले दुईपल्ट उपाधि जितिसकेकी थिइन् । गत वर्ष एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा हाफ म्याराथन पूरा गरेकी सन्तोषीले ५१ हजार पुरस्कार पाएकी थिइन् । उनी १३औँ सागमा १० किलोमिटरतर्फ स्वर्णविजेत खेलाडी हुन् ।

हाफ म्याराथनमा फूलमति राना दोस्रो र पुष्पा भण्डारी तेस्रो भए ।

नेपालगन्ज म्याराथनका रेस डायरेक्टर चन्द्र गुरुङका अनुसार म्याराथनमा २८ जनाले नाम दर्ता गरेकोमा १८ जना मात्र निर्धारित दुरीमा पुगेका थिए । यसैगरी हाफ म्याराथनमा २० जनाले नाम दर्ता गरेकोमा ६ जनाले मात्र दुरी पुरा गरेका थिए ।

नेपालको दशक लामो सशस्त्र द्वन्द को अन्त्यको सन्देश बोकेको नेपालगञ्ज म्याराथनको नवौं संस्करण नेपालगञ्जमा शनिबार सुरु भएको हो। नेपालगञ्जको बीपीचोकबाट बिहान ७ बजे म्याराथन सुरु भएको थियो ।