बाँके-बर्दियाका उद्योगी व्यवसायीद्वारा गर्भनरलाई ज्ञापन-पत्र

व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिका संयोजक टंकबहादुर धामी नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जका निमित्त निर्देशक रामकुमार कार्कीमार्फत गर्भनरलाई ज्ञापन-पत्र बुझाउँदै 

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ सम्बद्ध संघसंस्थाले बैंक तथा वित्तीय क्षेत्रलाई उद्योगी, व्यवसायीमैत्री बनाउनुपर्ने मागसहित नेपाल राष्ट्र बैंकका गर्भनरलाई १४ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
उद्योगी व्यवसायीका चार दर्जन बढी संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरेर बैंक तथा वित्तीय क्षेत्रको लगानी उद्योगी व्यवसायी मैत्री बनाउनु पर्ने मागसहित सोमबार नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्ज मार्फत गर्भनरलाई ज्ञापन पत्र बुझाएका हुन् ।
समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्जका निमित्त निर्देशक रामकुमार कार्कीमार्फत गर्भनरलाई बुझाइएको ज्ञापन पत्र अर्थमन्त्रीलाई पनि बोधार्थ पठाइएको छ ।
ज्ञापन पत्रमा एक अंकको बैंक ब्याजदर कायम गर्नुपर्ने, १५ महिने कोरोनाकालको बेला बैंकलाई तिरेर ब्याज फिर्ता गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाले सुरुको सम्झौता अनुसारको ब्याजदर कायम गर्नुपर्ने, १० करोड रुपैयाँभन्दा माथिको ऋण लगानी गर्दा सम्पत्ति शुद्धिकरणको कागजात अनिवार्य गर्नुपर्ने लगायतका रहेका छन् ।

त्यसैगरी संघर्ष समितिले सोमबार नै जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई पनि १४ बुँदे ज्ञापन पत्र बुझाइएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बुझाइएको हो ।
समितिका संयोजक टंकबहादुर धामीले आफ्ना मागहरु सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले ज्ञापन पत्र बुझाउने क्रममा भने, ‘पहिलो चरणमा हामीले ज्ञापनपत्रमार्फत हाम्रा मागहरु प्रस्तुत गरेका छौं । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्नेछौं ।’ संघर्ष समितिले विरोधमा कालो पट्टि बाँध्ने, अनसन बस्ने र व्यवसायी सभा गर्ने तयारी गरिरहेको छ ।