कृषि वैज्ञानिक डा.कालिकाको संस्मरणात्मक कृति ‘गुरूदक्षिणा’ विमोचन

बगनाहा (बर्दिया) : कृषि वैज्ञानिक डा.कालिकाप्रसाद उपाध्यायले गुरूबारे संस्मरणात्मक कृति गुरूदक्षिणा प्रकाशित गरेका छन् ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ३ को चुरे माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उपाध्यायको गुरूप्रति समर्पित पुस्तकको विमोचन गरेका हुन् ।
सुष्मा उपाध्याय र दर्पण उपाध्याय प्रकाशक रहेको ९६ पृष्ठको पुस्तकमा चुरे माविमा आफूलाई पढाएका शिक्षकहरु कृष्णप्रसाद पौड्याल, मदन ज्ञवाली, राममणि शर्मा, नन्दगोपाल श्रीवास्तव, भोजराज पण्डित, तिलकप्रसाद शर्मा शास्त्री, किरुलाल थारु, रेश्मीराज सुवेदी, सन्तराम बस्याल, ध्रुवबहादुर शाह, फुलराम थारु, गजेन्द्र घर्र्तीमगर, ओम ढुंगाना, दुर्गा जोशी, मक्कुराम थारु, नरहरि बजगाई, कृष्णबहादुर केसी र बुद्धिमान चौधरीको शिक्षक सिकाइका अनुभव र अनुभूतिलाई जस्ताको तस्तै रोचक रुपमा उतारेका छन् । विद्यालयका कार्यालय सहयोगी भण्डारी बाजे र चाइना थारुसँगका पल पनि पुस्तकमा उतारिएको छ । उनले कविता मार्फत चुरेको वर्णन पनि गरेका छन् भने स्कुले जीवनका पलहरु र तस्बिरहरुलाई पुस्तकमा समेटेका छन् । पुस्तक विमोचन समारोहमा उनले शिक्षकलाई गुरूदक्षिणा पुस्तक पनि हस्तान्तरण गरेका थिए ।
नेपाल कृषि अनुसन्धान परिषद्का बरिष्ठ वैज्ञानिक रहेका उपाध्याय राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुखको रुपमा कार्यरत छन् । उनका ५ दर्जन बढी अनुसन्धानमूलक कृतिहरु प्रकाशित भइसकेका छन् ।