बाँके, बर्दिया र रोल्पाका द्वन्द्व पीडितलाई वित्तीय साक्षरता र सञ्चार सीप तालिम

लिवाङ (रोल्पा) : नेपाल पीस विल्डिङ इनिसियटिभ ललितपुरले पश्चिम नेपालका द्वन्द्व पीडितलाई वित्तीय साक्षरता र सञ्चार सीप तालिम दिएको छ ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका द्वन्द्व पीडितलाई ठाकुरद्वारा, बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकाका द्वन्द्व पीडितलाई कोहलपुर साथै रोल्पा जिल्लाको रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका, त्रिवेणी गाउँपालिका र माडी गाउँपालिकाका द्वन्द्व पीडितलाई लिवाङमा तालिम दिइको हो । तीन ठाउँमा गरी ९० जना द्वन्द्व पीडित (शहिद तथा बेपत्ता परिवार, घाइते र अपाङ्ग)लाई पुस ३ गतेदेखि ८ गतेसम्म छुट्टाछुट्टै रुपमा दुई दुई दिने तालिम दिएको नेपाल पीस विल्डिङ इनिसियटिभका संस्थापक तथा कार्यकारी प्रमुख सुविन्द्र बोगटीले जानकारी दिए ।

‘शान्ति प्रक्रियाको डेढ दशक बितिसक्दा पनि द्वन्द्व पीडितले आफ्ना एजेण्डा र समस्याबारे तीन तहकै सरकार र सरोकारवालालाई जानकारी गराउन नसकेको र उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले वित्तीय साक्षरता तालिम दिएको हो’, प्रमुख बोगटी भन्छन्, ‘संक्रमणकालीन न्यायको कामले पूर्णता नपाउँदा द्वन्द्व पीडितका मुद्दालाई सम्बोधन हुनसकेका छैनन् ।’

वित्तीय साक्षरता सम्बन्धी विषयमा फिनलिट नेपालका संस्थापक गौरव थापाले र सञ्चार सीप सम्बन्धी तालिम अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका उपसम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनालले सहजीकरण गरेका थिए ।

प्रशिक्षक थापाका अनुसार बाँके, बर्दिया र रोल्पाका द्वन्द्व पीडितको आर्थिक अवस्था कमजोेर रहेको छ । कतिपयलाई त जिविकोपार्जन गर्न पनि धौधौ रहेको उनले बताए । संक्रमणकालीन न्याय सम्बन्धी संसदमा विचाराधीन विधेयकमा सहमति खोजेर पीडितमैत्री रुपमा चाँडो टुंगोमा पु-याउन पनि द्वन्द्व पीडितले सरकार र प्रमुख राजनीति दलका शीर्ष नेतासँग आग्रह गरेका छन् ।